काठमाडौं - बालुवाटारमा भएको आठ दलको बैठकमा राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसलाई समर्थन गर्ने सहमति भएसँगै नेकपा एमालेले सरकारबाट बाहिरिने तयारी गरेको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस उम्मेदवारलाई समर्थन गर्न प्रस्ताव गरेका थिए। बैठकमा सहभागी नेपाली कांग्रेससहित, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा पार्टीका नेताहरूको सहभागिता रहेको थियो।
नेपाली कांग्रेसले शनिबार कार्यसम्पादन बैठक बसेर राष्ट्रपतिको उम्मेदवार तय गर्ने छ। राष्ट्रपतिका लागि रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला प्रमुख आकांक्षी रहेका छन्।
बालुवाटारमा आठ दलले राष्ट्रपति कांग्रेसलाई दिने निर्णय गरेपछि एमाले सरकारबाट बाहिरिने तयारी गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार साँझ यसबारे जानकारी गराएका छन्। शीतल निवासमा भएको भेटघाटमा अध्यक्ष ओलीले भोलि बस्ने पदाधिकारी बैठकले सरकारबाट बाहिरिने औपचारिक निर्णय गर्ने जानकारी राष्ट्रपतिलाई दिएका हुन्।
यसअघी राष्ट्रपति उम्मेदवारको टुंगो लगाउन शीर्ष नेताहरूबीच दौडधुप चलिरहेका बेला नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको थियो।
भेटमा एमाले अध्यक्ष ओलीले एमालेसँग नेकपा एकीकृत समाजवादीको एकीकरण गरेर राष्ट्रपति बन्न प्रस्ताव गरेका थिए। जवाफमा अध्यक्ष नेपालले आफू एक्लैले निर्णय गर्न नसक्ने बताएका थिए।
भेटमा दुवै पार्टीका दोस्रो तहका नेताहरू पनि सहभागी रहेका थिए। ओलीलाई भेटेलगत्तै नेपाल बालुवाटार बैठकमा सहभागी भएका थिए भने ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्न शीतल निवास पुगेका थिए।
0 comment