काठमाडौं - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भाद्र २४ गते भएको घटनाको छानबिन नगरी त्यसलाई ढाकछोप गर्ने सरकारको प्रयास कुनै हालतमा स्वीकार्य नहुने बताएका छन्।

शनिबार विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थापाले सरकारले आफूले व्यक्त गरेको प्रतिबद्धताअनुसार भाद्र २४ गते भएको विध्वंसको निष्पक्ष छानबिन गर्न न्यायिक आयोग गठन गर्नुपर्ने माग गरे।

उनले भाद्र २३ र २४ गते भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताए। साथै प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही हुनुपर्नेमा जोड दिए। मानव अधिकार आयोगको प्रतिवेदन रोक्न दबाब दिइएको भन्ने कुरा सुनिएको उल्लेख गर्दै उनले यस्ता गतिविधि नगर्न सरकारलाई आग्रह गरे।

थापाले वर्तमान सरकारले गठन भएयता कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकामाथि नियन्त्रण कायम गर्न खोजिरहेको आरोप लगाउँदै सरकारका गलत क्रियाकलाप रोक्न कांग्रेसले निरन्तर खबरदारी गरिरहने बताए।

उनले पार्टीको केन्द्रीय समिति बाहिर रहेका सबै पक्षलाई समेटेर अघि बढ्न सकिने उल्लेख गर्दै पार्टी विधि र विधानभन्दा बाहिर गएर गतिविधि नगर्न आग्रह गरे। पार्टीभित्र देखिएको असहमति र विमतिलाई संवादमार्फत समाधान गर्न आफू तयार रहेको पनि थापाले बताए।