काठमाडौं - नेकपा एमालेभित्र नेतृत्व पुस्तान्तरणको बहस फेरि चर्किएको छ। पार्टीको वर्तमान अवस्था, निर्वाचनपछिको कमजोर प्रदर्शन र संगठनभित्र बढ्दो असन्तुष्टिबारे नेताहरूले खुलेर धारणा राख्न थालेका छन्।
पार्टीभित्र उठिरहेका आवाजहरूमा अध्यक्ष केपी शर्मा ओलीले लामो समयदेखि नेतृत्व सम्हालिरहेको सन्दर्भ जोडतोडका साथ उठाइएको छ। एमाले गौरवपूर्ण इतिहास, लाखौँ कार्यकर्ताको त्याग र बलिदानबाट बनेको पार्टी भएकाले यसलाई कुनै व्यक्ति वा समूहको निजी संरचनाजस्तो ढंगले सञ्चालन गर्न नहुने धारणा व्यक्त गरिएको छ।
नेताहरूले अबको आवश्यकता सामूहिक नेतृत्व, विचार, इमानदारी र संघर्षको राजनीतिलाई प्राथमिकता दिनु भएको बताएका छन्। वर्तमान समयको मागअनुसार युवा पुस्तालाई विश्वास गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिइएको छ।
यसै सन्दर्भमा नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स-सम्मान अध्यक्ष पदबाट बिदा लिन आग्रह गरेकी छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीलाई व्यक्ति केन्द्रित होइन, विधि र सामूहिकतामा आधारित ढंगले अघि बढाउनुपर्ने बताउँदै नयाँ पुस्तालाई अवसर दिनुपर्ने धारणा राखेकी छन्।
एमालेलाई पुनः जनआन्दोलन र जनविश्वासको केन्द्रमा पुर्याउन नेतृत्वमा परिवर्तन, संगठनभित्र एकता र कार्यकर्ताको भावना बुझ्ने संस्कृतिको आवश्यकता रहेको नेताहरूको भनाइ छ। व्यक्तिपूजा र गुटगत राजनीतिभन्दा देश र जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिइएको छ।


0 comment