काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसभित्र देखिएका असहज परिस्थिति र विमतिलाई सम्बोधन गर्नु सभापतिको जिम्मेवारी भएको बताएका छन् । 

आज बिहान विराटनगरस्थित ऐतिहासिक कोइराला निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले पार्टीभित्रको विवाद समाधानका लागि सबै नेतासँग मिलेर प्रयास भइरहेको समेत  बताए।

सबै नेताहरूले अहिलेको अवस्था र गम्भीरता बुझ्नुहुन्छ भन्ने आफुले विश्वास लिएको समेत उनले बताए ।

पार्टीभित्र देखिएको असन्तुष्टिसंगै २०८२ भदौ २४ गतेको हिंसात्मक घटनाको छानबिन र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषयलाई समेत उनले एकैसाथ उठाएका छन् ।

सरकार र आफ्नै पार्टीभित्र देखिएका असहज प्रवृत्तिमाथि कडा टिप्पणी गर्दै भदौ २४ गते भएको घटनालाई सरकारले सुनियोजित रूपमा ओझेलमा पार्न खोजेको आरोप लगाएका छन् । उनले उक्त घटनाको निष्पक्ष छानबिनका लागि तत्काल न्यायिक आयोग गठन गर्न समेत माग गरे ।

थापाले भदौ २३ गते भएको घटनामा अनुसन्धान र कानुनी प्रक्रिया अघि बढिरहेको भन्दै त्यसमा कांग्रेसको समर्थन रहेको बताए । तर  त्यसको भोलिपल्ट भाद्र २४ गते भएको हिंसा र क्षतिको विषयलाई राज्यले गम्भीर रूपमा नलिएको आरोप उनले लगाए ।

उनले कोइराला निवासदेखि चाक्सीबारीसम्म तथा सिंहदरबारदेखि राष्ट्रपति भवनसम्म भएका तोडफोड, आगजनी र हिंसात्मक घटनाबाट ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै थुप्रै युवा र सुरक्षाकर्मीले ज्यान गुमाएको बताए ।

उनले केन्द्रीय समिति बाहिर रहेका नेताहरूलाई पनि पार्टीको मूल संरचनाभित्र आएर काम गर्न आग्रह गरिरहेको बताए।सदस्यता व्यवस्थापन, अनुशासन समिति तथा निर्वाचन समिति गठन सबै पक्षको सल्लाहमा गर्न आफू तयार रहेको बताए।पार्टीको विधान विपरीत गतिविधि गर्ने र पार्टीको काममा अवरोध सिर्जना गर्ने प्रवृत्तिलाई भने अब छुट नदिइने स्पष्ट पारे ।

उनले भने, ‘पार्टीको सदस्यता व्यवस्थापन समिति पनि सल्लाहले बनाउने, पार्टीको अनुशासन समिति सल्लाहले बनाउने, पार्टीको निर्वाचन समिति सल्लाहले बनाउने, चाहेको जति नेताहरू पार्टीको केन्द्रीय समिति भित्र आएर बस्ने वातावरण बनाउने भनिसकेपछि अब के त्यहाँ अनुहार मन पर्दैन भन्नुपर्‍यो। त्यो भन्दा बाहेक बाँकी रहने भन्ने ठाउँ चाहिँ केही पनि छैन।’ उनले भने ।पार्टी विभाजनको दिशातर्फ जाने कुनै अवस्था नरहेको समेत सभापति थापाले स्पष्ट पारे ।