काठमाडौं – राष्ट्रपतिबारे प्रधानमन्त्री प्रचण्ड र देउवाबीच छलफल भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सँग यसबारे भेटवार्ता गरेका छन् । 

भेटमा राष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको छ साथै भेटका क्रममा कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार बन्ने संभावित व्यक्तिको बारेमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।नेपाली कांग्रेसले  वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम अघि सारेको छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डसँगको भेटमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका छन् ।  

बुधबार बेलुका पनि प्रधानमन्त्रीसँग सभापति देउवासहितका कांग्रेसका नेताहरूले राष्ट्रपति चयनका विषयमा छलफल गरेका थिए । प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाले निर्वाचनअघिको पाँच दलीय गठबन्धनलाई व्युत्याउने कसरत गरिरहेका छन् ।

पुस ११ गते प्रधानमन्त्री बनेका दिन प्रचण्डले राष्ट्रपति एमालेलाई दिने सहमति गरेका थिए। तर,सरकारलाई कांग्रेसले समर्थन दिएकाले उसको समेत सहमतिमा राष्ट्रपति बनाउनुपर्ने प्रधानमन्त्री प्रचण्डले अडान राख्दै आएका छन् ।