काठमाडौं - जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक रहेकोमा विज्ञहरुले जोड दिएका छन्। भारतको नयाँ दिल्लीमा मंगलबार भएको ‘जलवायु जोखिम तथा विपद् न्यूनीकरणमा साझा जिम्मेवारी’ विषयक संवाद कार्यक्रमका उनीहरुले सो कुरामा जोड दिएका हुन् ।
जलवायु परिवर्तनका कारण बढ्दै गएका प्राकृतिक विपद्को जोखिम न्यूनीकरण तथा त्यसको सामना गर्न क्षेत्रीय सहकार्य सुदृढ बनाउने उद्देश्यले भारतस्थित नेपाली राजदूतावास र इनिसियटिभ्स अफ मिडिया विमेनको संयुक्त आयोजनामा भएको कार्यक्रममा उनीहरुले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, प्रभावकारी पूर्वसूचना प्रणाली, वातावरण संरक्षण र विपद् उत्थानशील पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए।
कार्यक्रममा भारतका लागि नेपालका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाले हिमनदीजन्य जोखिमलगायत जलवायु परिवर्तनबाट उत्पन्न चुनौती सामना गर्न छिमेकी मुलुकबीच सहकार्य आवश्यक रहेको बताए। उनले नेपाल, भारत र चीनबीच क्षेत्रीय समन्वय तथा वातावरणीय दिगोपनासम्बन्धी संवादलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
नेपाल र भारतका नदी प्रणाली एकअर्कासँग जोडिएका उल्लेख गर्दै डा. थापाले साझा नदी पारिस्थितिक प्रणालीको संरक्षण र दिगो व्यवस्थापनका लागि दुई देशबीच सहकार्य अपरिहार्य रहेको बताए। जलवायु परिवर्तनका कारण बाढी, पहिरो, हिमनदी पग्लिने क्रम तथा अन्य प्राकृतिक जोखिम बढ्दै गएको उल्लेख गर्दै उनले यस्ता विपद्को प्रभाव न्यूनीकरण गर्न प्रभावकारी पूर्वसूचना प्रणाली, विपद् तयारी र आपसी समन्वयलाई बलियो बनाउनुपर्ने बताए।
कार्यक्रममा भारतको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका पूर्वमहानिर्देशक डा. राजेन्द्र सिंहले विपद्ले कुनै सीमा नचिन्ने भएकाले नेपाल र भारतले मिलेर काम गर्नुपर्ने बताए। भोटेकोशीमा बेपत्ता भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले समुदाय र बस्तीको संरक्षणका लागि विपद् उत्थानशील विकास आवश्यक रहेको धारणा राखे।
भारतको केन्द्रीय अनुसन्धान ब्युरोका पूर्वनिर्देशक डीआर कार्तिकेनले पनि विपद् जोखिम न्यूनीकरणमा नेपाल र भारत दुवै जिम्मेवार हुनुपर्ने बताए। पछिल्ला विपद्का घटनाले दुवै देशलाई सचेत गराएको उल्लेख गर्दै उनले समुदाय र भावी पुस्ताको सुरक्षाका लागि तत्काल आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए।
पद्मश्री पुरस्कारबाट सम्मानित डा. पोपटराव पवारले नेपालमा २६ अगस्टमा भएको विपद्बाट भारतसहित एसियाली मुलुकहरूले पाठ सिक्नुपर्ने बताए। हिमालय क्षेत्रमा हुने वातावरणीय परिवर्तनले व्यापक क्षेत्रलाई असर पार्न सक्ने उल्लेख गर्दै मानसरोवर क्षेत्रको वातावरणमा समस्या उत्पन्न भए त्यसको प्रभाव एसियाका विभिन्न देशमा पर्न सक्ने बताए।
सो अवसरमा इनिसियटिभ्स अफ मिडिया विमेनकी अध्यक्ष लक्ष्मी भण्डारी, वातावरण संरक्षण अभियन्ता तथा पद्मश्री पुरस्कारबाट सम्मानित उमाकान्त पाण्डे, कर्पोरेट तथा नियामक कानुन विशेषज्ञ आनन्द बर्मा, ग्लोबल ट्रेड एन्ड टेक्नोलोजी काउन्सिल अफ इन्डियाका प्रतिनिधि गौरव गुप्ता तथा जवाहरलाल नेहरू विश्वविद्यालयको अन्तर्राष्ट्रिय अध्ययन संकायअन्तर्गत आन्तरिक एसियाली अध्ययन केन्द्रकी प्राध्यापक डा. सङ्गीता थपलियालगायत वक्ताहरुले जलवायु परिवर्तन र विपद्का साझा चुनौती सामना गर्न क्षेत्रीय सहकार्य, ज्ञान तथा अनुभवको आदानप्रदान र दीर्घकालीन योजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।


0 comment