काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीचको भेट भएको छ । बुधबार लामिछाने निवास हात्तीगौडामा भएको चार घण्टा लामो छलफलको आधिकारिक विवरण सार्वजनिक भएको छैन।  

नेपाल प्रहरीका प्रमुख आईजीपी दानबहादुर कार्कीलाई हटाउने सम्भावनादेखि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रकरणसम्मका विषयमा छलफल भएको बुझिएको छ।

स्रोतका अनुसार निर्वाचन प्रहरीका लागि जुत्ता, युनिफर्मलगायत सामग्री खरिदमा भएको भनिएको अनियमितताको छानबिन रोक्न नमिल्ने धारणा प्रधानमन्त्री शाहले राखेका थिए।

उक्त प्रकरणको छानबिनसँगै आईजीपी कार्कीको सम्भावित निलम्बन र नयाँ प्रहरी प्रमुख नियुक्तिको विषयले पनि चर्चा पाएको छ। यद्यपि, यसबारे आधिकारिक निर्णय सार्वजनिक भएको छैन।

भेटमा रास्वपाभित्र बढ्दो दूरी, अर्थमन्त्री स्वर्णिम वाग्लेको भारतसम्बन्धी अभिव्यक्तिले उत्पन्न विवाद, लामिछानेविरुद्ध अदालतमा विचाराधीन दोहोरो नागरिकतासम्बन्धी मुद्दा तथा जबरा प्रकरणपछि विकसित राजनीतिक परिस्थितिबारे पनि छलफल भएको स्रोतको दाबी छ।

सरकार ढाल्ने सम्भावित प्रयास र त्यसको सामना गर्ने रणनीतिबारे समेत दुई नेताबीच कुरा भएको बताइएको छ।