काठमाडौं - नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग सडकको उपयोग गर्ने सवारीसाधनलाई दस्तुर (टोल शुल्क) लगाउने भएको छ ।
आयोजनाले आज सार्वजनिक सूचना जारी गरेर सडक बोर्ड नेपालको कार्यकारी समितिको गत असोज १२ गतेको निर्णयअनुसार यही कात्तिक १५ गतेदेखि टोल शुल्क उठाउन लागेको हो ।
सरकारले २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गरी नागढुङ्गा–नौबिसे सुरुङमार्गमा सवारीसाधन गुडाउने शुल्क निर्धारण गरेको थियो । सरकारले सवारीसाधनको क्षमताअनुसार सुरुङमार्गको प्रयोग गर्ने सवारीसाधनका लागि छुट्टाछुट्टै दस्तुर निर्धारण गरेको छ । कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रोबस र अन्य हलुका सवारीसाधनका लागि काठमाडौँ प्रवेश गर्दा रु ६५ र सोही वर्गका सवारीसाधन काठमाडौँबाट प्रस्थान गर्दा भने रु ६० तोकिएको छ ।
त्यस्तै, मिनीबस, मिनी टिपर÷ट्रकका लागि काठमाडौँ प्रवेश गर्दा रु १२५ र काठमाडौँबाट प्रस्थान गर्दा भने रु ८० दस्तुर तोकिएको छ ।
त्यसैगरी बस, ट्रक (सिङ्गल रियर एक्सल) सवारीको लागि काठमाडौँ प्रवेश गर्दा रु २६० र काठमाडौँबाट प्रस्थान गर्दा रु २०० दस्तुर तोकिएको छ ।
त्यसैगरी मल्टिएक्सल ट्रक÷सवारीसाधन, भारी उपकरणको लागि काठमाडौँ प्रवेश गर्दा रु ६०० र काठमाडौँबाट प्रस्थान गर्दा रु २५० दस्तुर तोकिएको छ ।
यो सुरुङमार्ग गत साउन ११ गते उद्घाटन गरेर सवारीसाधन परीक्षणका रूपमा सवारीसाधन गुडाउँदै आइरहेको छ ।


0 comment