काठमाडौं - हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिका सभापति गणेश पराजुलीले कोप–३१ मा नेपालको प्रस्तुति न्याय, अवसर र समृद्धिको स्पष्ट मार्गचित्रसहितको हुनुपर्ने बताएका छन् ।
काठमाडौंमा बिहीबार आयोजना गरिएको राष्ट्रिय जलवायु सम्मेलनमा रास्वपा संसदीय दलका उपनेता समेत रहनुभएका सभापति पराजुलीले कोप–३१ मा नेपालको प्रस्तुति केवल पीडा र क्षतिको विवरणमा मात्र सीमित नभई न्याय, अवसर र समृद्धिको स्पष्ट मार्गचित्रसहितको हुनुपर्ने सुझाव दिएका हुन् ।
उनले जलवायु वित्तमा सहज र प्रभावकारी पहुँच निर्माणका लागि दृढ पहल कदमी लिनुपर्नेमा जोड दिए । साथै अन्तर्राष्ट्रिय मञ्चमा प्रतिबद्धता गरिएका रकम वास्तविक रूपमा प्रभावित समुदायसम्म पुगे/नपुगेको र न्यायोचित वितरणको विषयलाई जोड दिनुपर्ने उनको भनाइ छ ।
उनले अनुकूलन, हानी–नोक्सानीको सम्बोधन र पूर्वसूचना प्रणालीका लागि अनुदानमा आधारित सहयोगको माग स्पष्ट रुपमा राख्नुपर्ने धारणा राखे ।
त्यस्तै पराजुलीले अत्याधुनिक प्रविधि हस्तान्तरण र स्थानीय तहसम्म कार्यान्वयनको क्षमता विकास गर्ने विषयलाई वार्ताको मुख्य एजेन्डा बनाइनुपर्ने बताए ।
जलवायु संकटसँग जुध्न बाहिरको सहयोग मात्र नभइ आफ्नै आर्थिक सामथ्र्य बढाउने न्यायोचित अवसर पनि नेपाललाई आवश्यक रहेको उनको भनाइ छ ।


0 comment