काठमाडौं - प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सातै प्रदेशका डीआईजीहरुलाई काठमाडौं हेडक्वाटर बोलाएका छन् ।

सरकारले प्रहरी प्रमुख सहित केही उच्च अधिकारीलाई पदमुक्त गर्ने चर्चा चुलिएसँगै प्रहरी हेडक्वार्टरले उपत्यका प्रहरी कार्यालयका प्रमुख रहेका एआईजीसहित सातवटै प्रदेशका प्रमुखको जिम्मेवारीमा रहेका डीआईजीलाई नक्सालस्थित प्रहरी हेडक्वार्टरमा बोलाएको छ ।

पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठकमा सहभागिताका लागि भन्दै कार्कीले डीआईजीहरुलाई  हेडक्वाटर बोलाएका हुन् । पीसीसीमा डीआईजीभन्दा माथिल्लो दर्जाका प्रहरी कर्मचारीहरु सहभागी हुन्छन् । पीसीसी बैठक २ बजे बस्ने बताइएको छ । तर डीआईजीहरुलाई पनि हेडक्वाटर किन बोलाइयो भन्ने खुलेको छैन ।तर संगठनको चेनअफ कमाण्ड र शान्तिसुरक्षा व्यवस्थापनका गम्भीर विषयहरु नै प्रभावित हुने गरी मिडिया ट्रायल हुन थालेपछि त्यसले पार्ने असरबारे ठोस नीति तय गर्न उपत्यकासहित प्रदेशका प्रहरी प्रमुखलाई हेडक्वार्टरमा झिकाईको स्रोतको भनाई छ  ।

डीआईजीहरुलाई हिजो नै आउन भनिएको थियो । त्यसअनुसार केही आइसकेको र केही आउँदै गरेको प्रहरी उच्च स्रोतको भनाई छ ।