काठमाडौं - जर्ज मुन्सेको अविजित शतकप्रेरित स्कटल्यान्डले विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा बुधबार नामिबियालाई १० विकेटले पराजित गरेको छ। 

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नामिबियाले ३९.२ ओभरमा सबै विकेट गुमाएर १५३ रनको योगफल तयार गरेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको स्कटल्यान्डले २२.१ ओभरमा कुनैपनी विकेट नगुमाई १५७ रनसहित लक्ष्य पूरा गर्‍यो। स्कटल्यान्डका लागि ओपनिङमा आएका मुन्सेले ६० बलमा ११ चौका र सात छक्कासहित ११३ रनको अविजित शतकीय इनिङ खेले।

यस्तै, अर्का ओपनर कायल कोइट्जर ७२ बलमा सात चौकासहित ४६ रनमा अविजित रहे।

यसअघि लो हान्ड्रे लौरेन्सको अर्धशतकप्रेरित नामिबियाले विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा स्कटल्यान्डलाई १५४ रनको लक्ष्य दिएको थियो। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नामिबियाले ३९.२ ओभरमा सबै विकेट गुमाएर १५३ रनको योगफल तयार गरेको थियो।

नामिबियाका लागि ओपनिङमा आएका लौरेन्सले ८८ बलमा पाँच चौकासहित ५४ रन बनाएका थिए। स्कटल्यान्डको सकिट बलिङसामू संघर्षरत नामिबियाले सात ब्याटरलाई १० भन्दा कम रनमा गुमाउनु परेको थियो। लौरेन्सबाहेक विकेटकिपर–ब्याटर जेन ग्रीनले ३५ बलम २५ रन जोड्दा अन्य पाँच ब्याटर सस्तैमा समेटिए। यस्तै, बर्नार्ड स्कोल्जले ३९ बलमा तीन चौका र एक छक्कासहित ३० रन बाहेक अन्य ब्याटरको उल्लेख्य प्रदर्शन रहेन।

स्कटल्यान्डका लागि माइकल लिस्कले ८.२ ओभरमा २४ रन खर्चेर एक मेडनसहित सर्वाधिक चार विकेट लिए। यस्तै। सफयान शरिफ, र मार्क वाटले तीन–तीन विकेट लिए।

मंगलबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपालसँग नामिबिया दुई विकेटले पराजित भएको थियो।