काठमाडौं - २०औं एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोको पुम्सेमा नेपालले बिर्सनलायक प्रदर्शन गरेको छ। आईचीको तोयोहासी जिम्नाजियममा बिहीबार भएको प्रतिस्पर्धामा सहभागी दुई नेपाली खेलाडी अन्तिम १६ बाटै बाहिरिएका हुन्।

महिला एकल पुम्सेमा स्वस्तिका तामाङ अतिम ६ बटै बाहिरिन्। उनी रहेको समूहमा ८ खेलाडीले प्रतिस्पर्धा गरेकोमा उनी अन्तिम स्थानमा रहिन्। २४ वर्षीया स्वस्तिकाले ६.५७ अंक जोडेकी थिइन्। यो विधामा फिलिपिन्सकी चन्देरारिया जुलियाना माइखाइलले ८.४२ अंक जोड्दै पहिलो भएकी थिइन्। महिला एकल पुम्सेमा सहभागी १६ खेलाडीलाई दुई समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइएको थियो। 

यसैगरी पुरुष एकल पुम्सेमा प्रतिस्पर्धा गरेका युवराज रानाको पनि प्रदर्शन कमजोर रह्यो। युवराज  ७.०२ अंकका साथ आठ खेलाडी सहभागी भएको प्रतिस्पर्धामा आठौं स्थानमै रहे। तेक्वान्दो छनोट चरण पार गरेर एसियाली खेलकुदमा सहभागी भएको हो। युवराज वाइल्ड कार्डमार्फत छनोट भएका हुन् भने स्वस्तिकाले रिप्लेसमेन्ट कोटामा छनोट हुँदै एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेकी थिइन्। नेपालले अब ग्योरोगीमा प्रतिस्पर्धा गर्न बाँकी छ। अभिषेक बरालले पुरुष ८० केजीमुनिको तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन्।

जुडो खेलाडी पुनम श्रेष्ठको पनि २०औं एसियाली खेलकुदमा पदक जित्ने सम्भावना सकिएको छ। बिहीबार आईची अन्तर्राष्ट्रिय एरिनामा भएको खेलमा पुनम महिला ७० केजीमुनिको तौल समूहमा भारतीय प्रतिद्वन्द्वी ताखेलाम्बाम इनुन्गान्वीसँग इप्पोनको आधारमा पराजित भएकी थिइन्। यससँगै नेपालले सहभागिता जनाएको सातमध्ये पाँच विधामा पराजित भइसकेको छ। 

यसअघि बुधबार महिला ४८ केजीमुनिको प्रतिस्पर्धामा निशा   श्रेष्ठ, ५२ केजीतर्फको महिला प्रतिस्पर्धामा देवकी माया   श्रेष्ठ, पुरुषतर्फको ६६ केजीमुनि विशेष विक र ६६ केजीमुनि विकास विक पराजित भएका भएका थिए। अब सुजन गुरुङले ९० केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गर्न बाँकी छ। यस्तै मिक्स टिमतर्फ पनि नेपालले आफ्नो चुनौती पेस गर्न बाँकी छ। यसैगरी कुस्तीको महिलातर्फ सुशीला चन्द पनि पहिलो चरणबाटै बाहिरिएकी छन्। सुशीला मंगोलियाकी अल्तजिन टोगटोखसँग १०–१ अंकमा पराजित हुँदै बाहिरिएका हुन्।