काठमाडौं - मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले घरेलु टोली मलेसियालमाथि जित निकालेको छ ।
मलेसियाको सेलाङ्गोर टर्फ मैदानमा आज भएको अभ्यास खेलमा नेपालले घरेलु टोली मलेसियामाथि नौ विकेटको जित निकालेको हो । जितको लागि मलेसियाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपाललले जवाफी गर्दा गर्दै गर्दै वर्षा भएको थियो । त्यसपछि निर्धारित ५० ओभरको खेललाई छोट्टाएर ४८ ओभरमा झारिएयो । त्यससँगै नेपालले ४८ ओभरमा २२८ रनको नयाँ लक्ष्य प्राप्त गर्यो । उक्त लक्ष्य नेपालले २८ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक १६१ रनको योगदान दिए । उनले ८५ बलमा १२ चौका र १२ छक्का प्रहार गर्दै १६१ रन बनाएका हुन् । त्यस्तै अर्जुन कुमाल ६१ रनमा अविजित रहे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनको योगफल बनाएको थियो । मलेसियाका लागि मुहम्मद स्याहादात रामलीले सर्वाधिक ६१ रन बनाए । त्यसैगरी सैफुल्लाह मलिकले ४५, साइद अजिजले ४० र विरानदीप सिंहले ३९ रनको योगदान दिए ।
बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए । त्यस्तै करण केसीले २ विकेट लिँदा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए । यही भदौ १४ गतेदेखि मलेसियामा नै आयोजना हुने एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारी स्वरुप नेपालले उक्त अभ्यास खेल खेलेको हो । उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा मलेसियासँगै हङकङ, बहराइन र साउदी अरेबिया रहेका छन् ।
त्यस्तै समूह ‘बी’ मा भने संयुक्त अबर इमिरेट्स (युएई), ओमान, कुवेत, कतार र सिङ्गापुर रहेका छन् । नेपालले आफ्नो पहिलो खेल यही भदौ १५ गते बहराइनसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।


0 comment