काठमाडौं - अन्तर्राष्ट्रिय रेफ्री काजल श्रेष्ठ जापानको आइची नागोयामा हुने पाँचौँ एसियन पारा गेम्सको रेफ्री (निर्णायक) मा छनोट भएकी छिन्। विश्व तेक्वान्दो महासंघले काजललाई प्रतियोगिताको निर्णायकका रूपमा छनोट गरेको हो।

काजलले अक्टोबर १८ देखि २४ सम्म हुने एसियन पारा गेम्समा निर्णायकको भूमिका निर्वाह गर्नेछिन्। एसियन पारा गेम्समा निर्णायकका रूपमा छनोट हुने काजल नेपालकै पहिलो महिला अन्तर्राष्ट्रिय रेफ्री हुन्।

यसअघि उनले विभिन्न अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा निर्णायकको भूमिका निर्वाह गरिसकेकी छिन्। उनी हालै दक्षिण कोरियामा सम्पन्न विश्व पारा तेक्वान्दो ओपन च्यालेन्ज, चुन्चोन कोरिया ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप, र चीनमा सम्पन्न हाइनान बिच तेक्वान्दो ओपन च्याम्पियनसिपमा समेत रेफ्री थिइन्। यसैगरी उज्वेकिस्तानमा सम्पन्न जुनियर वर्ल्ड तेक्वान्दो च्याम्पियनसिप, अस्ट्रेलियन ओपन, प्रेसिडेन्ट कप, २०२६ ओसिएनिया च्याम्पियनसिप, तथा मंगोलियामा सम्पन्न एसियन गेम्समा समेत उनले रेफ्रीको भूमिका निर्वाह गरिसकेकी छिन्।

काजल आगामी सेप्टेम्बरमा कोरियामा हुने चुन्चोन विश्व पुम्से च्याम्पियनसिपमा समेत निर्णायकका रूपमा छनोट भइसकेकी छिन्। उनी एसियन पारा गेम्समा जानुअघि विश्व पुम्से च्याम्पियनसिप खेलाउन कोरिया जानेछिन्। नेपालबाट विश्व पुम्से च्याम्पियनसिपमा महिला अन्तर्राष्ट्रिय निर्णायक बन्ने काजल पहिलो हुन्।

अन्तर्राष्ट्रिय रेफ्रीका रूपमा सफलता हात पार्दै गरेकी काजल नेपालकी पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी हुन्। उनले १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन्।

खेलाडीका रूपमा पनि थुप्रै सफलता हात पारेकी काजल केही वर्षयता अन्तर्राष्ट्रिय निर्णायकका रूपमा सक्रिय छिन्। खेलाडीपछि निर्णायकका रूपमा देशको नाम चिनाउन पाउँदा खुसी लागेको प्रतिक्रिया उनले दिएकी छिन्।