काठमाडौं - दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २९ गतेसम्म सुर्खेतमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आज बसेको १२५औँ बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।
राखेपका अध्यक्ष एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको परिषद्को बोर्ड बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद प्रतियोगिता आगामी पुस १५ गतेदेखि सञ्चालन गर्ने पनि निर्णय गरेको छ ।
यस्तै, २०औँ एशियाली खेलकुदमा सहभागी हुने खेलाडी तथा अफिसियलको नामावली अनुमोदन गरेको छ । बैठकमा मन्त्री पोखरेलले दशौँ राष्ट्रिय खेलकुद सफल बनाउन सम्पूर्ण पक्ष एकताबद्ध भई लाग्न अनुरोध गरे ।
बैठकमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल, परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठलगायत प्रदेश खेलकुद परिषद्का सदस्य–सचिवसहित परिषद्का बोर्ड सदस्यहरुको उपस्थिति थियो । बैठकमा राखेपका सदस्य–सचिव रामचरित्र मेहताले विषय वस्तु प्रस्तुत गरेका थिए ।


0 comment