काठमाडौं - सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका दीपक भट्टको कम्पनीबाट जयवीर देउवाको कम्पनीमा २ करोड ६० लाख रुपैयाँ रकम ट्रान्सफर भएको पाइएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उक्त कारोबारको उल्लेख गरिएको छ।

विभागका अनुसार भट्टले कसुरबाट प्राप्त रकम भुक्तानी गरेको हुन सक्ने देखिएकाले सो विषयमा थप अनुसन्धान भइरहेको छ। विभागले विष्णु पौडेलसहित १४ व्यक्ति तथा कम्पनीविरुद्ध बिहीबार विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा भट्टबाट भएको भनिएको रकम स्थानान्तरणबारे उल्लेख गरेको हो।

अभियोगपत्रमा भनिएको छ, “प्रतिवादी दीपक भट्टले कसुरबाट प्राप्त रकम भुक्तानी गरेको हुनसक्ने देखिँदा त्यसतर्फको अनुसन्धानलाई निरन्तरता दिई कानुनबमोजिम गरिनेछ।”

यसै विषयमा थप बुझ्नका लागि विभागले देउवा पुत्र जयवीरलाई सात दिनभित्र हाजिर हुन भन्दै सूचना जारी गरेको थियो। विभागले बुढानीलकण्ठस्थित जयवीरको घरमा समेत सूचना टाँसेको थियो। तोकिएको अवधिमा उपस्थित नभए कानुनबमोजिम प्रक्रिया अघि बढाइने भन्दै असार २३ गते गोरखापत्रमा समेत सूचना प्रकाशित गरिएको थियो।

तर हालसम्म जयवीर देउवा विभागमा उपस्थित नभएको जनाइएको छ। विभागले सम्पत्ति शुद्धीकरण कसुरसम्बन्धी अनुसन्धानका क्रममा उक्त कारोबारसहित अन्य विषयमा समेत छानबिन जारी राखेको जनाएको छ।