काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्धनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् । 

शुक्रबार सिंहदरबारमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका पदाधिकारी र सदस्यसँग छलफल गर्दै प्रधानमन्त्री शाहले जुत्ता–चप्पल उद्योगको प्रवर्धन , आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात प्रवर्धनका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले तीनै तहको सरकारको समन्वयमा जुत्ता निर्माणसम्बन्धी सीपमूलक तालिम सञ्चालन गरिने, नेपाली जुत्ता–चप्पलको ब्रान्डिङ, मार्केटिङ तथा बजार प्रवर्धन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताए ।

छलफलका क्रममा जुत्ता–चप्पल उत्पादक तथा व्यवसायीहरुले भारतका विभिन्न नाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रण गर्न आग्रह गरेका थिए । त्यस्तै गुणस्तरहीन तथा सस्तो जुत्ता–चप्पलको आयात नियन्त्रण गर्ने तथा आयातित जुत्ता–चप्पलमा अनिवार्य गुणस्तर परीक्षण लागू गर्न सरकारको ध्यानाकर्षण गराइएको फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका अध्यक्ष सुरज बन्जाडेले जानकारी दिए।

त्यस्तै व्यवसायीहरुले सरकारबाट आवश्यक नीतिगत सहयोग, बजार संरक्षण र उद्योगमैत्री व्यवस्था भए स्वदेशी जुत्ता–चप्पल उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सक्ने धारणा राखेका थिए ।