काठमाडौं - इलाममा दुर्घटना भएको अटोमा अचानक आगलागी हुँदा आमाछोरीको मृत्यु भएको छ।

शनिबार ​मंगलबारेबाट हांगासुलीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००३ ह ६९६७ नम्बरको अटो पोखरी–कमेरेको कच्ची सडकको  डिलबाट तल खसेर दुर्घटना भएको थियो। दुर्घटनालगत्तै अटोभित्र जर्किनमा राखिएको पेट्रोलमा अचानक आगलागी भएको थियो।

दुर्घटनामा इलाम नगरपालिका–७, तिल्केनीकी ३७ वर्षीया कविता श्रेष्ठ र आठ वर्षीया खुसीका श्रेष्ठको झापास्थित बीएनसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। कविता छोरीलाई लिएर हांगासुलीस्थित माइती घरतर्फ जाँदै थिइन्।

​दुर्घटनामा परी अटो चालक फाकफोकथुम–६ पोखरी बजार बस्ने ३५ वर्षीय लोकबहादुर श्रेष्ठ घाइते भएका छन्। उनको शरीरका विभिन्न भाग जलेका छन्। उनको बीएनसी अस्पतालमै उपचार भइरहेको छ।

अन्य घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको सामान्य रहेको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको छ।