काठमाडौं - तोकिएको भन्दा बढी मूल्यमा खाना ग्यास बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै कागेश्वरी मनोहरा नगरपालिका–६, बाबाचोकस्थित ‘अनिल किराना पसल’ लाई सरकारले ३ लाख जरिबाना गराएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले सरकारी दररेटभन्दा बढी मूल्यमा ग्यास बिक्री गरिरहेको भेटेपछि कारबाही स्वरुप तत्काल जरिबाना गराएको छ। उक्त पसलका सञ्चालकलेे २ हजार ६० रुपैयाँ तोकिएको सुगम ग्यासलाई प्रतिसिलिन्डर २ हजार ६ सय रुपैयाँमा बिक्री गरिरहेको पाइएको थियो ।

प्रतिसिलिन्डर ५ सय ४० रुपैयाँसम्म बढी असुल गरी कालाबजारी गरेको पुष्टि भएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ बमोजिम स्थलगत रूपमै ३ लाख रुपैयाँ जरिबाना गराइएको विभागका सूचना अधिकारी अनिल किरातीले जानकारी दिए ।

ग्यासको अभावको फाइदा उठाउँदै हुन सक्ने कालाबजारी रोक्न कागेश्वरी मनोहरा नगरपालिकाले पनि वडा-वडाका डिपो तथा किराना पसलहरूमा अनुगमन तीव्र बनाएको छ।

सर्वसाधारणलाई सहज रूपमा ग्यास तथा अत्यावश्यक उपभोग्य वस्तु उपलब्ध गराउन नगरपालिकाले मूल्य र मौज्दातको कडा निगरानी गरिरहेको छ। नगरपालिकाले तोकिएको मूल्यभन्दा बढी नतिर्न उपभोक्तालाई र नियम पालना गर्न व्यवसायीहरूलाई आग्रह गरेको छ।