काठमाडौं - शैक्षिक परामर्श व्यवसायी संयुक्त संघर्ष समितिले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ। सरकारले जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३’ का केही प्रावधानको विरोध गर्दै पुतलीसडक चोकमा प्रदर्शन गरेको हो ।
समितिले नियमावलीका कतिपय व्यवस्था अव्यावहारिक, व्यवसायमैत्री नभएको तथा विद्यार्थीको शैक्षिक अवसर र रोजाइमा समेत प्रतिकूल असर पार्ने दाबी गरेको छ ।
उनीहरूले नियमावली यथावत् लागू गरिए शैक्षिक परामर्श क्षेत्र, भाषा शिक्षण संस्था तथा तयारी कक्षा सञ्चालन गर्ने संस्थाहरू प्रभावित हुने दाबी गर्दै सरकारलाई नियमावली पुनरावलोकन गरी विवादित प्रावधान फिर्ता लिन माग गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘विद्यार्थीको रोजाइको सम्मान गर’, ‘अव्यावहारिक नियमावली फिर्ता गर’, ‘शैक्षिक परामर्श क्षेत्र बचाऊ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
संघर्ष समितिले सरोकारवाला पक्षसँग पर्याप्त परामर्श नगरी नियमावली जारी गरिएको आरोप लगाउँदै सम्बन्धित निकायसँग संवादमार्फत समस्याको समाधान खोज्न पनि आग्रह गरेको छ। समितिले व्यवसायीका जायज माग सम्बोधन नभए थप चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनीसमेत दिएको छ।


0 comment