काठमाडौं - विशेष अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। शुक्रबार न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई थुनामा राख्न वा धरौटी माग्न आवश्यक नदेखिएको भन्दै साधारण तारेखमा छाड्न आदेश दिएको हो।

अदालतले तीन आधारमा उक्त आदेश दिएको जनाएको छ। आदेशअनुसार हालसम्म प्राप्त प्रमाणबाट पौडेलको संलग्नता नदेखिएको, आफूविरुद्ध लगाइएको आरोपमा उनले इन्कारी बयान दिएको तथा दीपक भट्टसँग उनको कुनै वित्तीय कारोबार भएको वा कुनै सम्पत्ति तथा लाभ प्राप्त गरेको देखिने प्रमाण नरहेको उल्लेख गरिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई गत असार ८ गते सुर्खेतबाट नियन्त्रणमा लिएको थियो। विभागले उनीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेपछि विशेष अदालतमा थुनछेक बहस भएको थियो। अदालतको आदेशसँगै अब पौडेलले मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म साधारण तारेखमा बसेर कानुनी प्रक्रिया सामना गर्नेछन्।