काठमाडौं - नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सांसद वर्षमान पुनले सत्तामा रहिरहने भ्रमबाट मुक्त हुन सरकारलाई सुझाव दिएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पुनले लोकतन्त्रमा आवधिक निर्वाचनमार्फत सत्ता फेरबदल भइरहने स्मरण गराउँदै कार्यालयका भित्तामा झुण्डिएका पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीका तस्बिर हेरेर सधैँ सत्तामा रहिरहने भ्रमबाट मुक्त हुन सुझाव दिएका हुन् । 

उनले सरकारलाई दम्भी, अहंकारी र धम्कीपूर्ण शैली त्यागी विनम्र हुन तथा सबैको अस्तित्व स्वीकार्न आग्रह समेत गरे । सांसद पुनले चुनावअघि‘पैसा नहुनेले पढ्न पाउँछ’ भन्ने अभिव्यक्ति दिइएको तर सरकारमा गएपछि स्वास्थ्य, शिक्षा र घरेलु बिजुली खपतमा अतिरिक्त कर थोपरेर जनताको ढाड सेक्ने काम भएको आरोप लगाए ।

 उनले जनेजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग र राष्ट्रिय मानव अधिकार आयोगले बुझाएका दुवै प्रतिवेदन तत्काल सार्वजनिक गरी सिफारिस कार्यान्वयन गर्न माग गरे । भदौ २३ र २४ गतेका घटनामा आगजनी, लुटपाट र सार्वजनिक सम्पत्ति नष्ट गर्ने वास्तविक दोषीलाई प्रमाणका आधारमा कारबाही गर्नुपर्ने, तर राजनीतिक आस्था वा सामाजिक पहिचानका आधारमा निर्दोषलाई फसाउन नहुने उनले बताए।

त्यस्तै पुनले रसुवा र नुवाकोटका दुर्गम तथा अति प्रभावित बस्तीहरूमा बाटो, पुल र सञ्चार सम्पर्क नहुँदा राहत पुग्न नसकेको बताए । राज्य केवल ‘आकाश र काठमाडौँमा मात्र देखियो’ भन्ने जनआक्रोशप्रति ध्यानाकर्षण गराउँदै उनले राहत कहाँ, कति र कसलाई पुग्यो/पुगेन भन्ने विवरण संसदमा सार्वजनिक गर्न माग गरे । विपत्तिले पार्टी र राजनीतिक विचार नहेर्ने भएकाले पीडितको उद्धार र पुनर्निर्माणमा प्रतिपक्षको सहयोग रहने तर कमजोरीमा निरन्तर खबरदारी गर्ने उनको भनाइ छ ।