पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दरबार हत्याकाण्डबारे सार्वजनिक रूपमा फैलाइएको विवरणमाथि प्रश्न उठाएका छन्। उनले २०५८ जेठ १९ गते भएको राजदरबार हत्याकाण्डमा तत्कालीन युवराज दीपेन्द्र शाहलाई दोषी ठहर गर्ने गरी फैलाइएको कथामा सत्यता नरहेको दाबी गरेका छन्।
शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफ्ना आमाबुबासहित सम्पूर्ण परिवारको हत्या गरी दीपेन्द्रले आत्महत्या गरेको भन्ने विवरणलाई ‘रेडिमेड कथा’ को संज्ञा दिए। उनले उक्त घटनाको वास्तविक तथ्य अझै बाहिर आउन नसकेको बताए।
ओलीले दरबार हत्याकाण्डलाई दीपेन्द्र शाहको प्रेम सम्बन्धसँग जोडेर विश्वव्यापी रूपमा एउटा निश्चित कथा फैलाइएको उल्लेख गरे। उनले हत्याकाण्ड कसले गर्यो भन्ने विषय अझै रहस्यमै रहेको बताए। वर्तमान गृहमन्त्री सुधन गुरुङले दरबार हत्याकाण्डको छानबिन गर्ने बताइरहेका बेला ओलीको यो भनाइ बाहिर आएको छ ।
उनले भने, “२०५८ साल जेठ १९ गते दरबार हत्याकाण्ड भयो। त्यसलगत्तै विश्वव्यापी रूपमा एउटा हल्ला फैलाइयो– फलानो–फलानोको प्रेम सम्बन्ध थियो, त्यसैका कारण यस्तो घटना भयो भन्ने। युवराज दीपेन्द्रले बाबु, आमा, भाइ, बहिनी, काका–काकीसहित वंशनाश गरेर आफूले पनि आत्महत्या गरे भन्ने एउटा रेडिमेड कथा विश्वभर पुर्याइयो।”
उनका अनुसार उक्त विवरणले करिब दुई दशकसम्म व्यापक प्रभाव पारे पनि त्यसको वास्तविक आधार र स्रोतबारे स्पष्ट जानकारी सार्वजनिक हुन सकेको छैन। “त्यो कथाको रचनाकार को हो, मूल वाचक को हो भन्ने पनि थाहा छैन। एउटा कथा बनाइयो र एकैपटक विश्वव्यापी रूपमा फैलाइयो,” ओलीले भने।
उनले विश्वका प्रमुख सञ्चारमाध्यमहरूले समेत घटनाको गहिरो अनुसन्धान र तथ्य परीक्षण नगरी सोही विवरणलाई प्राथमिकता दिएको भन्दै प्रश्न उठाए। “वास्तवमा त्यो सूचना सही होइन,” उनले दाबी गरे।
२०५८ जेठ १९ गते तत्कालीन राजा वीरेन्द्र शाहसहित राजपरिवारका १० सदस्यको हत्या भएको थियो। उक्त घटनापछि गठित छानबिन समितिले युवराज दीपेन्द्रलाई घटनाको मुख्य जिम्मेवार ठहर गरे पनि दरबार हत्याकाण्डबारे विभिन्न कोणबाट प्रश्न र आशंका उठ्दै आएका छन्।


0 comment