काठमाडौं - नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा हङकङमा बाथरुममा लडेर घाइते भएको जनाइएको छ। उनी निकट स्रोतलाई उद्धृत गर्दै केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएको जानकारीअनुसार बाथरुममा लड्दा देउवाको दायाँ हातमा चोट लागेको र स्थानीय अस्पतालमा उपचारपछि डिस्चार्ज भएको बताइएको छ।

यस विषयमा देउवा वा उनको परिवारले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।  केही दिनअघि भएको यो घटनाको खबर भर्खरै बाहिरिएको हो ।

जेन्जी आन्दोलनका क्रममा कुटाइ खाएका देउवा दम्पती उपचारका लागि भन्दै केही महिनाअघि सिंगापुर गएका हुन् । उनीहरु नेपाल फर्केमा पक्राउ पर्ने डरले उतै बसेका छन् ।

 सरकारले इन्टरपोलमार्फत देउवा दम्पत्तिलाई नेपाल ल्याउने प्रयास गरेको भए पनि त्यो विभिन्न कारणले सकेका छैनन् । यद्यपि सर्वोच्च अदालतले पनि देउवालाई पक्राउ नगर्नू भनी आदेश दिइसकेको छ । तर सरकारले उनीकी श्रीमती डा आरजु राणालाई भने भुटानी शरणार्थी प्रकरण र सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ गरेर अनुसन्धान गर्ने तयारी गरेको छ । पछिल्लो समय हङकङमा बस्दै र डुल्दै आएका उनीहरुको भिडियो बेलाबखत सार्वजनिक हुने गरेको छ ।