एउटा नागरिकको मृत्यु हुन्छ, समाचार बन्छ । केही घण्टासम्म सामाजिक सञ्जाल तात्छ, श्रद्धाञ्जलीका शब्दहरू ओइरिन्छन्, केही दिन बहस चल्छ, अनि बिस्तारै सबै सामान्यजस्तै हुन्छ। तर केही मृत्यु यस्ता हुन्छन्, जसले एउटा परिवार मात्र होइन, सिङ्गो राष्ट्रको विवेकलाई झस्काइदिन्छन्। गणेश नेपालीको मृत्यु त्यस्तै एउटा पीडादायी घटना बनेर हाम्रो सामु उभिएको छ ।
उहाँ अब हामीबीच हुनुहुन्न । एउटा परिवारले आफ्नो प्रिय सदस्य गुमाएको छ। तर उहाँसँगै केही यस्ता प्रश्नहरू पनि छाडेर जानुभएको छ, जसको उत्तर राज्य, समाज र हामी सबैले खोज्नैपर्छ ।
घटनाका भिडियोहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भए। ती दृश्यहरू हेर्दा मनमा एउटा प्रश्न बारम्बार उठ्छ— घटनास्थलमा भिडियो खिच्ने मोबाइल धेरै थिए, तर बचाउन दौडिने हात किन यति कम भए?
प्रविधि आफैँमा गलत होइन। कुनै घटनाको अभिलेख महत्त्वपूर्ण हुन सक्छ । तर जब एउटा मानिस जीवन र मृत्युको दोसाँधमा हुन्छ, त्यतिबेला हाम्रो पहिलो कर्तव्य भिडियो बनाउनु होइन, जीवन बचाउनु हो। हामी यस्तो समाजतर्फ उन्मुख भइरहेका छौँ, जहाँ पीडाभन्दा ’भ्यु’ महत्त्वपूर्ण बन्दै गएको छ । यो प्रश्न हामी प्रत्येकले आफ्नै अन्तरात्मासँग सोध्नुपर्ने बेला आएको छ ।
यस घटनाले हाम्रो आपत्कालीन उद्धार प्रणालीमाथि पनि गम्भीर प्रश्न उठाएको छ । संकटमा परेका नागरिकले समयमै उद्धार, प्रभावकारी एम्बुलेन्स सेवा, प्राथमिक उपचार र विशेषज्ञ स्वास्थ्य सेवा पाउने व्यवस्था कति सक्षम छ? प्रत्येक मिनेट निर्णायक हुने अवस्थामा हाम्रो प्रणाली किन अझ चुस्त र भरपर्दो बन्न सकेको छैन?
यस घटनाको निष्पक्ष छानबिन हुनु आवश्यक छ। कहाँ कमजोरी भयो? के सुधार गर्नुपर्छ? भविष्यमा यस्ता घटना दोहोरिन नदिन राज्यले के गर्ने? यी प्रश्नहरूको स्पष्ट उत्तर आउनुपर्छ। यस्तो समीक्षा दोषारोपणका लागि होइन, जीवन बचाउने प्रणालीलाई अझ सुदृढ बनाउनका लागि हो ।
यस घटनाले अर्को असहज प्रश्न पनि जन्माएको छ— यदि यही अवस्थामा कुनै प्रभावशाली वा विशिष्ट व्यक्ति ख्क्ष्ए परेको भए, के प्रतिक्रिया यस्तै हुन्थ्यो? यदि आमनागरिकले यस्तो प्रश्न सोध्न बाध्य भएका छन् भने, त्यो राज्यप्रतिको विश्वास कमजोर हुँदै गएको संकेत हो। लोकतन्त्रमा प्रत्येक नागरिकको जीवन समान मूल्यवान् हुन्छ। उपचार, उद्धार र सेवा व्यक्तिको पद, पहुँच वा आर्थिक अवस्थाका आधारमा होइन, आवश्यकताका आधारमा उपलब्ध हुनुपर्छ ।
तर दोष केवल राज्यको मात्र होइन। हामी समाजका रूपमा पनि आत्मालोचना गर्नुपर्ने अवस्थामा छौँ। आज हामी घटना भइरहँदा दर्शक बन्न थालेका छौँ। सहायता गर्नेभन्दा दृश्य कैद गर्ने प्रवृत्ति बढेको छ। घटना सकिएपछि श्रद्धाञ्जली लेख्न सजिलो हुन्छ, तर घटना भइरहँदा एउटा जीवन बचाउन अघि बढ्नु नै साँचो मानवीयता हो ।
माननीय प्रधानमन्त्रीज्यू, गृहमन्त्रीज्यू तथा सम्बन्धित निकायहरू,
गणेश नेपाली अब फर्केर आउनुहुन्न । त्यसैले यो घटना केही दिनको समाचार बनेर हराउनु हुँदैन । यसलाई नेपालको आपत्कालीन उद्धार प्रणाली, स्वास्थ्य सेवा, सुरक्षा संयन्त्र र सार्वजनिक उत्तरदायित्व सुधार्ने एउटा महत्वपूर्ण अवसरका रूपमा लिनुपर्छ । निष्पक्ष छानबिन, कमजोरीको पहिचान, आवश्यक सुधार र प्रभावकारी कार्यान्वयन नै उहाँप्रतिको न्याय हो ।
देश विकासको मापन केवल नयाँ सडक, अग्ला भवन वा उद्घाटनका समारोहले हुँदैन । विकासको वास्तविक अर्थ त्यतिबेला देखिन्छ, जब संकटमा परेको एउटा सामान्य नागरिकले समयमै राज्यको साथ पाउँछ । यदि नागरिकले संकटको घडीमा आफूलाई असहाय महसुस गर्नुपर्छ भने विकासका धेरै दाबी अधुरा रहनेछन् ।
गणेश नेपालीको मृत्यु एउटा व्यक्तिको मृत्यु मात्र होइन । यसले हामी सबैलाई एउटा कठिन प्रश्न सोधेको छ, हामी कस्तो समाज बनाउँदैछौँ? यस्तो समाज, जहाँ नागरिकको पीडा मोबाइलको पर्दामा सीमित हुन्छ? वा यस्तो समाज, जहाँ अपरिचितको जीवन बचाउन मानिसहरू आफ्नो ज्यानको जोखिमसमेत मोल्न तयार हुन्छन्?
अब श्रद्धाञ्जलीका शब्द मात्र पर्याप्त छैनन् । हामीलाई संवेदनशील समाज, उत्तरदायी राज्य, प्रभावकारी आपत्कालीन उद्धार प्रणाली र मानव जीवनलाई सर्वोच्च प्राथमिकता दिने संस्कृतिको आवश्यकता छ ।
किनकि एउटा नागरिकको मृत्यु केवल एउटा परिवारको शोक होइन, त्यो सिङ्गो राष्ट्रको नैतिकताको परीक्षा हो ।
गणेश नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली । उहाँको आत्माले चिरशान्ति पाऊन् । शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना ।
अब अर्को कुनै गणेश नेपाली गुमाउनु नपरोस्। यही नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।



0 comment