काठमाडौं - विश्वकपको सह–आयोजक क्यानडाले इन्जुरी समयको दोस्रो मिनेटमा स्टेफन एउस्टाक्वियोले गरेको निर्णायक गोलको मद्दतमा दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै पहिलोपटक विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
स्पष्ट गोल अवसरहरू निकै कम सिर्जना भएको प्रतिस्पर्धात्मक खेल अतिरिक्त समयमा धकेलिने संकेत देखिइरहेका बेला एउस्टाक्वियोले पेनाल्टी क्षेत्रको किनाराबाट प्रहार गरेको उत्कृष्ट लो–स्ट्राइक गोल नै खेलको निर्णायक क्षण बन्यो। त्यस गोलले क्यानडालाई ऐतिहासिक जित दिलायो।
यस प्रतियोगिताअघि विश्वकपमा खेलेका सबै ६ खेल गुमाएको क्यानडाले यसपटक भने उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ। जुन १८ मा कतारलाई ६–० ले पराजित गर्दै विश्वकप फाइनल चरणमा पहिलो जित निकालेको क्यानडाले अब अर्को ऐतिहासिक उपलब्धि हासिल गर्दै नकआउट चरणमा प्रवेश गरेको हो।
जेसी मार्सको टोली अन्तिम १६ मा पुग्ने पहिलो राष्ट्र बनेको छ। अब क्यानडाले जुलाई ४ मा ह्युस्टनमा हुने प्रि–क्वार्टरफाइनलमा नेदरल्यान्ड्स वा मोरक्कोमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ।
खेल सकिएलगत्तै टोलीलाई सम्बोधन गर्दै प्रशिक्षक मार्सले आफ्ना खेलाडीहरूलाई, "तिमीहरू क्यानडाका नायक हौ। तिमीहरूकै कारण यस देशमा फुटबलको भविष्य अत्यन्त उज्ज्वल बनेको छ," भन्दै बधाई दिएका थिए।
समूह 'ए' को उपविजेताका रूपमा नकआउट चरणमा पुगेको दक्षिण अफ्रिकाले भने अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन। लस एन्जलसमा भएको खेलमा उसले लक्ष्यतर्फ केवल एक प्रहार मात्र गर्न सक्यो। अतिरिक्त समयसम्म खेल लैजाने रणनीतिमा देखिएको दक्षिण अफ्रिकाले अन्तिम क्षणमा निर्णायक गोल खाँदै प्रतियोगिताबाट बाहिरिनुपर्यो।
क्यानडाले खेलभरि दबाब कायम राखेको थियो। मोइज बोम्बिटोको हेडरलाई दक्षिण अफ्रिकाका अब्रे मोडिबाले गोललाइनबाट क्लियर गर्दै टोलीलाई सुरुआती झट्काबाट जोगाएका थिए।
त्यसपछि खुलिसो मुदाउले रिची लारियामाथि गरेको चुनौतीपछि क्यानडाले पेनाल्टीको माग गरे पनि रेफ्रीले अस्वीकार गरे। उक्त निर्णयप्रति प्रशिक्षक मार्स निकै असन्तुष्ट देखिएका थिए र मध्यविराममा उनले खेल अधिकारीसँग छलफल गर्ने प्रयास गरेका थिए। तर बोम्बिटोले उनलाई रोक्दै शान्त बनाएका थिए।
दक्षिण अफ्रिकाका डिफेन्डर म्बेकेजेली म्बोकाजीले जोनाथन डेभिडको सुनिश्चित गोललाई उत्कृष्ट ब्लकमार्फत रोकेका थिए। दोस्रो हाफमा बायर्न म्युनिखका फुलब्याक अल्फोन्सो डेभिस मैदान प्रवेश गरेपछि क्यानडाको आक्रमण अझ तीव्र बनेको थियो। जोनाथन डेभिड र प्रोमिस डेभिड दुवै गोल नजिक पुगे पनि सफल हुन सकेनन्।
खेलभरि लक्ष्यतर्फ सात प्रहार गरेको क्यानडाले अन्ततः इन्जुरी समयमा गोल निकाल्दै आफ्नो प्रभुत्वलाई जितमा परिणत गर्यो। यससँगै क्यानडाले ऐतिहासिक रूपमा पहिलोपटक विश्वकपको अन्तिम १६ मा स्थान बनाउँदा दक्षिण अफ्रिकाको यात्रा भने यही चरणमा टुंगिएको छ।


0 comment