नेपालका गाउँहरू आज पहिले जस्ता छैनन् । खेतबारीका गराहरूमा युवाका पाइला कम सुनिन्छन् । चौतारीमा बसेर देश र भविष्यका सपना बुन्ने अनुहारहरू क्रमशः हराउँदै गएका छन् । गाउँका घरहरूमा नयाँ रङ चढेका छन्, पक्की भवनहरू ठडिएका छन्, बैंक खातामा रकम बढेको छ । तर यी सबै परिवर्तनको पछाडि एउटा मौन, अदृश्य र गहिरो पीडा लुकेको छ—बिदेसिएको मनको घाउ । नेपाली युवाले आफ्नै देशभित्र भविश्य खोज्ने दिन कहिले आउछ ? आज यही प्रश्न जन्मिएको छ सबैतिर । र बालेन सरकारसँग पनि आम युवाको आसा भरोसा रहेको पाइन्छ ।
हरेक वर्ष हजारौं नेपाली युवाहरू आफ्नो जन्मभूमि, परिवार र सपनाको एउटा हिस्सा नेपालमै छोडेर परदेशको यात्रा तय गर्छन् । उनीहरूको हातमा राहदानी हुन्छ, आँखामा आशा हुन्छ, तर मनमा परिवार छुटाउनुको भारी पीडा पनि सँगै बोकेको हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइका बेला आमाको आँखा रसाउँछ, बाबुको अनुहार मौन हुन्छ, श्रीमतीका ओठहरू मुस्कानभित्र लुकेको आँसुले काँपिरहेका हुन्छन्, र सन्तानले सोधेको “बाबा कहिले फर्किनुहुन्छ?” भन्ने प्रश्नको उत्तर धेरैजसोसँग हुँदैन।
परदेश पुगेपछि उनीहरूले केवल काम मात्र होइन, नयाँ जीवनसँग जुध्ने संघर्ष पनि गर्नुपर्छ । नयाँ भाषा सिक्नुपर्छ, फरक संस्कृति बुझ्नुपर्छ, आधुनिक प्रविधिसँग अभ्यस्त हुनुपर्छ र अपरिचित समाजमा आफ्नो अस्तित्व स्थापित गर्नुपर्छ । कतिपय अवस्थामा उनीहरूलाई आफू दोस्रो दर्जाको नागरिकजस्तो व्यवहार भएको अनुभव पनि हुन्छ । आफ्नै देशमा सम्मानका साथ बाँचेका मानिसहरू परदेशमा केवल श्रमिकको परिचयमा सीमित हुन बाध्य हुन्छन् ।
तर सबैभन्दा गाह्रो संघर्ष बाहिर होइन, भित्र हुन्छ—मनभित्रको एक्लोपनसँग । दिनभर कामको थकानपछि राति कोठामा फर्किँदा परिवारको सम्झनाले मन भारी हुन्छ । दशैं–तिहार, तीज, छठ वा नयाँ वर्षजस्ता चाडपर्वहरूमा घरको आँगन, गाउँको बाटो, साथीभाइको हाँसो र परिवारको साथ झन् तीव्र रूपमा सम्झिन्छ । मोबाइलको स्क्रिनभित्र परिवारलाई हेरेर चित्त बुझाउनु धेरै नेपालीको नियति बनेको छ ।
नेपालमा रहेका परिवारका सदस्यहरू पनि आफ्नै प्रकारको अभावसँग बाँचिरहेका हुन्छन् । आर्थिक आवश्यकता पूरा भए पनि भावनात्मक आवश्यकता सधैं अधुरै रहन्छ । धेरै बालबालिकाहरूले आफ्ना बाबुआमाको माया भिडियो कलको माध्यमबाट मात्र अनुभव गरिरहेका छन् । उनीहरूको बाल्यकाल, पहिलो सफलता, खुशी र पीडाका क्षणहरूमा बाबुआमा प्रत्यक्ष सहभागी हुन पाउँदैनन् । पैसा पठाएर पढाइ, लुगा र आवश्यकता पूरा गर्न सकिए पनि समय, माया र उपस्थितिको विकल्प कुनै बैंक खातामा हुँदैन ।
रेमिट्यान्सले नेपालको अर्थतन्त्रलाई ठूलो टेवा दिएको छ । विदेशी मुद्राको महत्वपूर्ण हिस्सा वैदेशिक रोजगारीबाट आउँछ, जसले लाखौं परिवारको जीवनस्तर उकासेको छ । तर राष्ट्रको विकास केवल बैंक खातामा देखिने रकमले मात्र मापन हुँदैन। देशको वास्तविक सम्पत्ति उसका नागरिक, उनीहरूको सीप, ज्ञान र सिर्जनशीलता हुन् ।
आज नेपालले रेमिट्यान्स पाइरहेको छ, तर त्यसको बदलामा आफ्नो सबैभन्दा ऊर्जाशील र उत्पादनशील जनशक्ति गुमाइरहेको छ । चिकित्सक, इन्जिनियर, सूचना प्रविधि विज्ञ, अनुसन्धानकर्ता र दक्ष युवा विदेशिने क्रम तीव्र बन्दै गएको छ । उनीहरूले आफ्नो ज्ञान, श्रम र क्षमता विदेशी भूमिको विकासमा समर्पित गरिरहेका छन ्। यसलाई केवल जनशक्तिको पलायन मात्र भन्न मिल्दैन; यो त राष्ट्रको बौद्धिक सम्पत्ति र भविष्यको मौन पलायन पनि हो ।
यही सन्दर्भमा सरकारको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । युवालाई विदेश जानबाट रोक्ने उपाय बन्देज होइन, अवसर सिर्जना हो । देशभित्र सम्मानजनक रोजगारीको वातावरण बनाउनु, उद्यमशीलतालाई प्रोत्साहन गर्नु, अनुसन्धान र नवप्रवर्तनमा लगानी बढाउनु तथा योग्यताका आधारमा पारदर्शी अवसर सुनिश्चित गर्नु राज्यको दायित्व हो । जब शिक्षित युवाले आफ्नै देशमा भविष्य देख्न सक्दैनन्, तब विदेशिनु उनीहरूको रहर होइन, बाध्यता बन्छ ।
सरकारले केवल रेमिट्यान्सको आँकडामा गर्व गर्नु मात्र पर्याप्त हुँदैन; किन यति धेरै युवा विदेशिन बाध्य छन् भन्ने गहिरो प्रश्नको उत्तर खोज्नुपर्छ । उत्पादन, उद्योग, कृषि, पर्यटन र प्रविधि क्षेत्रमा ठोस लगानी गरेर देशभित्रै अवसर सिर्जना गर्न सकिए मात्र प्रतिभा पलायन रोक्न सम्भव हुन्छ । विदेशबाट फर्किएका युवाको सीप र अनुभवलाई देश विकासमा उपयोग गर्ने स्पष्ट र व्यवहारिक नीति पनि आवश्यक छ ।
आज रेमिट्यान्सले घरहरू बनाइरहेको छ, तर भोलिको नेपाल बनाउने युवाहरू भने देश छोडिरहेका छन् । यदि यही अवस्था निरन्तर रहिरह्यो भने गाउँहरूमा पक्की घर त रहनेछन्, तर ती घरभित्र सपना देख्ने युवा अनुहारहरू हराउनेछन् । त्यसैले अबको राष्ट्रिय प्राथमिकता रेमिट्यान्स बढाउने मात्र होइन, प्रतिभा जोगाउने, युवालाई आफ्नै माटोमा अवसर दिने र परिवारलाई सँगै राख्न सक्ने वातावरण निर्माण गर्ने हुनुपर्छ ।
किनकि हरेक चम्किलो रेमिट्यान्सको तथ्याङ्कभित्र एउटा बिदेसिएको मन, एउटा अधुरो परिवार र एउटा मौन पीडा लुकेको हुन्छ । त्यो घाउ तब मात्र निको हुनेछ, जब नेपाली युवाले आफ्नो भविष्य खोज्न परदेश होइन, आफ्नै देश रोज्न सक्नेछन् ।



0 comment