काठमाडौं - नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी भइरहेको निर्माण आयोजनाले जनाएको छ ।

सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा नागढुंगा सुरुङ्गमार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालले सुरुङमार्ग सञ्चालनका लागि तालिम लगाएतका कार्यहरु भइरहेकाले सेवा प्रदायक अभ्यस्त भएपछि छिटै सञ्चालन हुने जानकारी दिए । सशस्त्र प्रहरी अस्पताल, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगाएत सवै सरोकारवालाहरु पूर्ण रुपमा तयार भएपछि सबैका लागि सुरुङमार्ग खुल्ला गरिने उनको भनाइ छ ।

आयोजना निर्देशक नेपालले उक्त आयोजनाबाट वार्षिक ३५ करोडसम्मको राजस्व संकलन हुने अनुमान गरिएको बताए । सुरुङमार्गबाट काठमाडौं आउनका लागि तीनवटा टोल प्लाजा र काठमाडौंबाट बाहिरिनका लागि दुई वटा टोल प्लाजा राखिएको आयोजनाले जनाएको छ । जसमध्ये एउटा टोल प्लाजाबाट नेपालमा नै पहिलो पटक स्वचालित रुपमा दस्तुर संकलन गर्ने व्यवस्था गरिएको निर्देशक नेपालले जानकारी दिए ।

बैठकमा समिति सदस्यहरुले नागढुंगा सुरुङ्गमार्ग निर्माणको लामो समय भइसकेको अवस्थामा अब छिटो भन्दा छिटो सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका थिए ।