काठमाडौं - इजरायली वायुसेना (IAF) ले इरानको मध्य र पश्चिमी क्षेत्रमा रहेका सैन्य ठेगानाहरूलाई निशाना बनाएर आक्रमण गरेको छ। इजरायली आक्रमण लगत्तै इरानको सरकारी टेलिभिजनले देशका प्रमुख सहरहरू शक्तिशाली विस्फोटले थर्किएको पुष्टि गरेको छ।
इरानी सरकारी सञ्चारमाध्यमहरूले टेलिग्राममा पोस्ट गर्दै लेखेका छन्, 'राजधानी तेहरान, तब्रिज र इस्फहानमा एकपछि अर्को गर्दै कयौँ शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन्।' यसका साथै मध्य इरानको 'करज' सहर वरपर पनि ठूला विस्फोटहरू भएका छन्। यसअघि इरानले इजरायलमाथि दर्जनौँ मिसाइलहरू प्रहार गरेको थियो। सोही हमलाको जवाफी कारबाही स्वरूप इजरायलले इरान भित्रै पसेर यो ठूलो हवाई आक्रमण गरेको हो।
यसैबीच, इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले एक विज्ञप्ति जारी गर्दै इजरायलमाथि गरिएको आक्रमण केवल एउटा चेतावनी (ट्रेलर) मात्र भएको बताएको थियो । इरानको यो भयानक चेतावनी र इजरायलको आक्रामक जवाफले मध्यपूर्वी क्षेत्र अब पूर्ण रूपमा एउटा विनाशकारी युद्धको भुमरीमा फसेको छ, जसले विश्वभरकै अर्थतन्त्र र शान्तिमा ठूलो धक्का पुर्याउने निश्चित छ।


0 comment