काठमाडौं - मध्यपूर्वको तनाव उत्कर्षमा पुगेका बेला इरानले आइतबार राति इजरायलमाथि कैयौँ ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। लेबनानको राजधानी बेरूतमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणको बदला लिन यो कारबाही गरिएको इरानले जनाएको छ। बेरूतमा भएको उक्त इजरायली आक्रमणमा २ जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए।
इजरायलका अनुसार गत अप्रिल महिनामा भएको युद्धविराम (सीजफायर) यता इरानले सोझै इजरायली भूभागमा मिसाइल प्रहार गरेको यो पहिलो पटक हो।
आक्रमणपछि इरानको इस्लामिक रिभोलुस्नरी गार्ड कर्प्सले एक विज्ञप्ति जारी गर्दै यो आक्रमण केवल एक चेतावनीमात्र भएको स्पष्ट पारेको छ। इरानले चेतावनी दिँदै भनेको छ, 'यदि अब अमेरिका वा इजरायलकातर्फबाट पुनः कुनै पनि आक्रमण भयो भने, हामी ती दुवै देशका सैन्य र रणनीतिक ठेगानाहरूलाई सीधा निशाना बनाउनेछौँ।'
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल दुवै पक्षलाई एक(अर्कामाथि आक्रमण नगर्न र संयमता अपनाउन कडा अपिल गरेका छन्।
फक्स न्युजलाई दिएको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले मध्यपूर्वको स्थितिप्रति चिन्ता व्यक्त गर्दै भनेका छन्, 'अब बस, धेरै भयो। म अहिले नै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई फोन गरेर यस मिसाइल आक्रमणको जवाफमा कुनै पनि प्रकारको पल्टवार वा जवाफी हमला नगर्न भन्नेछु।'
इरानको यो अप्रत्याशित कदम र अमेरिकी राष्ट्रपतिको मध्यस्थताको प्रयासले अहिले विश्व राजनीतिको ध्यान मध्यपूर्वतर्फ तानेको छ। इजरायलले यस विषयमा आफ्नो आगामी कदम के हुनेछ भन्नेबारे आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन।
इरानले इजरायलमाथि ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि केही इजरायली राजनीतिज्ञहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कडा आलोचना गरेका छन्। उनीहरूले इरानविरुद्ध सैन्य बल प्रयोग गरेर कडा जवाफ दिन माग समेत गरेका छन्।


0 comment