काठमाडौं - वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार गर्ने काम रोक्न माग गर्दै स्थानीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । विकासको नाममा विनास गर्न नहुने भन्दै उनीहरुले डोजर आतंक बन्द गर्नुपर्ने माग सहित मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले वीरगञ्जको मेन रोडलाई सहरी मार्ग कायम गर्न पनि माग गरेका हुन् । साथै उनीहरुले सर्वोच्च अदालतले वीरगञ्ज बासीलाई न्याय देऊ, वीरगञ्जमा डोजर आतंक बन्द गर लगाएका नारा लगाएका थिए । 

वीरगञ्ज सडक पीडित संघर्ष समितिका संयोजक कुन्दन रौनियारले दशकौँदेखि कानुनी प्रक्रिया पूरा गरेर निर्माण गरिएका घर तथा व्यावसायिक संरचना भत्काउने तयारीले हजारौँ परिवार विस्थापित हुने बताए । 

उनले मुआब्जा लागि सर्वोच्चमा रिट दायर गरेको लामो समय हुदा पनि कुनै सुनुवाई हुन नसकेको गुनासो गरे । उनले वीरगञ्जको मेनरोडलाई सहरी मार्गको रुपमा कायम गर्नुपर्ने बताए ।