काठमाडौं - पूर्वगृहमन्त्री सुधन गुरुङमाथि उठेका विषयमा अध्ययन तथा छानबिन गर्न गठित समितिले अनुसन्धान र बयान सकेको छ । गत वैशाख २८ गते पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा गठित समितिले गुरुङसँग बयान लिने लगायतका सबै काम सकेको छ  । 

 केही दिनभित्रै प्रतिवेदन बुझाउने गरी प्रतिवेदन लेखनको कार्यमा समिति जुटेको जनाइएको छ।   गुरुङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्यतथ्य अध्ययन तथा छानबिन गरी सरकारसमक्ष रायसुझावसहित १५ दिनभित्र प्रतिवेदन बुझाउने समितिलाई जिम्मेवारी दिइएको छ ।

तीन सदस्यीय उक्त समितिमा अध्यक्ष भण्डारीसहित महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका छन् । समितिले गुरुङको सम्पत्ति र उनले तिरेको करसहित अन्य विवरण अध्ययन गरेको थियो ।  

गुरुङसँग गृहमन्त्री हुँदा पेस गरेको सम्पत्ति विवरण र निर्वाचन आयोगमा बुझाएको विवरण फरक परेको हो कि हैन ?  सम्पत्तिको स्रोत के हो ? हामी नेपालको नाममा आएको सहयोग निजी बैंक खातामा जम्मा गरेको आरोप सत्य हो कि हैन ? लगायतका समितिले प्रश्न सोधेको थियो ।

 विवादास्पद व्यापारीसँग उनको नाम जोडिएपछि चौतर्फी विरोध भएको थियो । त्यसको केहीदिनपछि नै उनले राजीनामा दिएर समितिलाई सहयोग गर्छु भनेका थिए ।