काठमाडौं - अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपालको पर्वतारोहणमा अमेरिकी प्रविधिले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राखेकी छन् ।

नेपालस्थित अमेरिकी दूतावासले आज आयोजना गरेको ‘द एसेन्ट समिट’मा उपविदेशमन्त्री रोजर्सले अमेरिका र नेपालबीचको नवप्रवर्तन, पर्यटन तथा प्रविधिगत सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिइन्।

उनलेअमेरिका केवल समृद्धि र अवसरको देश मात्र नभई साहस, अन्वेषण र नवप्रवर्तनको भावनाबाट निर्माण भएको राष्ट्र भएको उल्लेख गर्दै हिमाल र विशेषगरी सगरमाथाले विश्वभरका साहसिक पर्यटक तथा पर्वतारोहीलाई प्रेरित गर्दै आएको बताइन् ।

उनले सन् १९६३ मा अमेरिकी पर्वतारोही जिम ह्विटेकरले नेपाली शेर्पा नावाङ गोम्बुसँगै सगरमाथा आरोहण गरेको ऐतिहासिक क्षण स्मरण गर्दै त्यसले नेपाल–अमेरिका सम्बन्धलाई थप गहिरो बनाएको उल्लेख गरिन् । उनका अनुसार छ दशकभन्दा बढी समयपछि पनि दुवै देशबीचको सम्बन्ध पर्यटन, शिक्षा, व्यवसाय, प्रविधि र जनस्तरको आदानप्रदानमार्फत निरन्तर बलियो बन्दै गएको छ ।

उपविदेशमन्त्री रोजर्सले अमेरिकी कम्पनीहरूले विकास गरेका सुरक्षा प्रणाली, सञ्चार उपकरण, ड्रोन प्रविधि तथा अभियान व्यवस्थापनसम्बन्धी आधुनिक प्रविधि हिमाली पर्यटन क्षेत्रका लागि उपयोगी रहेको उल्लेख गरिन् । यस्ता प्रविधिले खोज तथा उद्धार, मौसम पूर्वतयारी, लजिस्टिक व्यवस्थापन र पर्वतारोहण सुरक्षामा महत्वपूर्ण योगदान पु¥याउने उनको भनाइ थियो ।

उनले सन् २०२५ मा नेपालले ११ लाख ५० हजारभन्दा बढी अन्तरराष्ट्रिय पर्यटक भित्र्याएको र त्यसमध्ये अमेरिकाबाट मात्रै करिब एक लाख १२ हजार पर्यटक नेपाल आएको तथ्य प्रस्तुत गर्दै अमेरिकी पर्यटकहरूले नेपालको पर्यटन उद्योग, होटल व्यवसाय, पदप्रदर्शक सेवा तथा स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याएको बताइन् ।

रोजर्सले नेपाललाई अमेरिकाको विश्वासिलो साझेदारका रूपमा वर्णन गर्दै नवप्रवर्तन, उद्यमशीलता, शिक्षा तथा सुरक्षित प्रविधि समाधानका क्षेत्रमा सहकार्य विस्तार गर्न अमेरिका प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।

त्यस अवसरमा प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति सुम्निमा उदासले सगरमाथा नेपालको अन्तरराष्ट्रिय पहिचान, राष्ट्रिय गौरव र आर्थिक समृद्धिको सबैभन्दा महत्वपूर्ण आधारमध्ये एक भएको बताइन् ।

उनले सगरमाथाले विश्वसामु नेपालको परिचय स्थापित गर्न अतुलनीय भूमिका खेलेको उल्लेख गरिन् ।

सभापति उदासले हालै नयाँ पर्यटन विधेयक संसद्मा दर्ता भएको जानकारी दिँदै उक्त विधेयक नेपालको पर्यटन क्षेत्रका लागि ऐतिहासिक अवसर भएको बताइन् ।