काठमाडौं - एसियन गेम्स छनोटको महिलातर्फको तेस्रो स्थानको लागि भएको खेलमा नेपाल चीनसँग ५ विकेटले पराजित भएको छ । चीनसँग पराजित हुँदा नेपाली महिला क्रिकेट टोली जापानमा हुने एसियन गेम्स छनोट हुन असफल रहेको हो ।
वायुमास ओभरमा खेलको बीचमा बर्षा हुँदा खेल रोकिएको थियो । जसले गर्दा खेल ७ ओभरमा घटाएर खेलाइएको थियो । जसमा नेपालले ७ ओभरमा ५० रन बनाउँदा ओभर घटेसँगै लक्ष्य पनि घटाइएको थियो । डकवर्थ लुइस (डीएल) पद्धतीमा ७ ओभरमा खेलमा ४३ रनको विजयी लक्ष्य पछ्याएको चीनले ७ ओभरमा ५ विकेट गुमाउँदै ४५ रनसहित लक्ष्य पूरा गर्यो । चीनको लागि अन्तिम बलमा जीतको लागि २ रन चाहिँदा चाइ युजीले सीता राना मगरलाई चौका प्रहार गर्दै चीनलाई एसियन गेम्समा छनोट गराएकी हु्न् ।
चीनको लागि कप्तान मिङवुइ जुले १८ रन बनाइन् । चाइ युजी ११ रनमा अविजित रहिन् । अन्यले भने दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । नेपालका लागि बलिङ तर्फ, रिया शर्माले २ विकेट लिइन्। सीता राना मगरले १ विकेट लिइन् । त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ७ ओभरमा ५ विकेटको क्षतिमा ५० रन बनायो । नेपालको लागि कविता कुँवरले सर्वाधिक २२ रन बनाइन् ।
उनले १० बलमा १ चौका र १ छक्का प्रहार गरिन् । ओपनर सम्झना खड्का ५ रनमा पेभेलियन फर्किइन् । सोनी पाख्रिनले ५ र कप्तान इन्दु बर्माले ११ रन बनाइन् । रुबिना क्षेत्री ३ रनमा अविजित रहिन् । चीनको लागि मा रुइकीले २ विकेट लिइन् । मिङ्ग्युइ जु र जाओ इहानले १–१ विकेट लिए । सेमिफाइनलमा नेपाललाई हराएको मलेसिया र अर्को सेमिफाइनलमा चीनलाई हराएको थाइल्यान्ड फाइनल पुग्दै यसअघि नै एसियन गेम्समा स्थान बनाइसकेका छन् ।


0 comment