काठमाडौं - पोखरा महानगरपालिकाले पृथ्वीचोकमा रहेका अतिक्रमित संरचनामाथि डोजर चलाएको छ ।

महानगरले बिहीबार सहारा क्लब, सामुदायिक सेवा केन्द्र, जिफन्ट र ट्रेड युनियन कंग्रेस लगायत संघसंस्थाका् भवनमा डोजर चलाएको हो । पोखरा महानगरपालिकाले पृथ्वीचोकको मूल सडक भएर हङकङ बजार हुँदै नयाँबजार निस्कने सडकछेउका अतिक्रमित संरचना हटाउने भएपछि ती ठाउँमा व्यवसायीले धमाधम सटर खाली गरेका थिए । पोखरा बसपार्कका लागि २०३२ सालमा अधिग्रहण भएको जग्गा विभिन्न व्यक्ति र संस्थाले अतिक्रमण गरेकाले भत्काइएको महानगरले जनाएको छ ।

पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेका अर्बौं मूल्यको सरकारी तथा सार्वजनिक जग्गामाथि राजनीतिक दल, तिनका भातृ संगठन, व्यापारिक घराना र सुकुमबासीबाट अतिक्रमणमा परेको थियो ।  

यसपटक नगर विकास समितिले ३५ दिने सूचना जारी गरी अनुमतिविना निर्माण गरिएका सबै संरचना हटाउन उर्दी जारी गरेको थियो । सुचना प्रकाशन भएको ‘३५ दिनभित्र समितिको स्वामित्वमा रहेको जग्गामा अतिक्रमण गरी निर्माण गरेका संरचनाहरू आफैँ खाली गर्न आग्रह गरेअनुसार खाली भएपछि भत्काउन शुरु गरिएको पोखरा महानगरपालिका वडा नं. ९ का वडाअध्यक्ष दिपेन्द्र मर्सानीले बताए । 

पोखरा महानगरका सबै वडा बिभिन्न क्षेत्रमा अबैध संरचना निमार्ण गरी बस्दै आएका अव्यवस्थित बसोबासीलाई क्रमशः हटाउँदै जाने पोखरा महानगरपालिकाले जनाएको छ ।