काठमाडौं - काठमाडौँ महानगरपालिका सहकारी विभागको रोहवरमा बुद्ध दर्शन सेभिङ् एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड ले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ।

महानगरपालिकाको वडा नं. ६ मा सञ्चालित उक्त सहकारीले १ लाख ५० हजार रुपैयाँसम्म बचत गरेका ७० जना बचतदाता सदस्यलाई आज विभागमा उपस्थित भई रकम फिर्ता लिन आह्वान गरेको थियो। बोलाइएका सदस्यहरूमध्ये ३४ जनाले आफ्नो बचत रकम फिर्ता लिएका हुन्।

सहकारीका उपाध्यक्ष रविन लामाले भोलि पनि फिर्ता क्रम जारी रहने भन्दै बाँकी बचतकर्तालाई पनि उपस्थित भई रकम फिर्ता लिन आग्रह गरे । काठमाडौँ महानगरपालिका सहकारी विभागको समन्वय र रोहवरमा बचत रकम फिर्ता प्रक्रिया अघि बढाइएको सहकारीले जनाएको छ।