काठमाडौं - काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको समूह चरणको दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको छ। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार भएको खेलमा नेपालले २५-१८, २५- २० र २५-१३ ले हराएको हो। 

किर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दा नेपालको सेमिफाइनल खेल्ने सम्भावना बलियो बनेको छ। पहिलो सेट नेपालले सुरुवाती समयदेखि नै अग्रता बनायो। ५-१ को अग्रता बनाएको नेपालले ८-२, १५-१३ हुँदै २५- १८ ले पहिलो सेट जित्यो। 

दोस्रो सेटमा पनि नेपालले सुरुवाती समयमा अग्रता बनाएको थियो। तर, अग्रता ९ बराबरीमा किर्गिस्तानले भेटायो। त्यसपछि पुन नेपालले अग्रता बनाउँदा किर्गिस्तानले १५ बराबरी बनाएको थियो। त्यसपछि नेपालले २१-१८ हुँदै २५-२० ले दोस्रो सेटमा पनि जित दर्ता गरेको हो। 

तेस्रो सेटमा किर्गिस्तानले खेल अवधिमा पहिलो पटक ४-३ को अग्रता बनाएको थियो। ७-६ सम्म किर्गिस्तानले अग्रता बनाएको थियो। त्यसपछि भने नेपालले एकतर्फी अग्रता बनाउँदै २५- १३ ले जित दर्ता गरेको हो।

प्रतियोगिताको समूह चरण अन्तर्गतको पहिलो खेलमा नेपाल भारतसँग ३-२ ले पराजित भएको थियो। किर्गिस्तानले पहिलो खेलमा माल्दिभ्सलाई ३-० ले सेटले हराएको थियो।‌