काठमाडौं - नेपाल राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीमा लगातार दोस्रो जित दर्ता गरेको छ। घरेलु टोली रुवान्डा महिला क्रिकेट टोलीलाई बुधबार दुई विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा पुनरागमन गरेको हो।

रुवान्डाले दिएको ८९ रनको लक्ष्य नेपालले दुई बल अगावै आठ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका लागि ओपनर सम्झना खड्का ले ४८ रनको उत्कृष्ट इनिङ खेलिन्। उनले ४२ बलमा सात चौका प्रहार गरिन्।

अन्य ब्याटरमध्ये विन्दु रावलले १० रन बनाउँदा कप्तान इन्दु बर्मा एक रनमै आउट भइन्। उपकप्तान पूजा महतोले १३ रनको योगदान दिइन्। रुविना क्षेत्री (२), कविता कुँवर (०), कविता जोशी (१) र रुवि पोडार (१) सस्तोमै आउट भए।

यसअघि गहंगा क्रिकेट स्टेडियम ओभल ‘बी’ मा टस जितेर ब्याटिङ गरेको रुवान्डा दुई बल अगावै ८८ रनमा समेटिएको थियो। रुवान्डाका लागि एलिज इकुज्वे ले १७ तथा मेभिले उवासेले १५ रन बनाइन्। क्लारिस उवासे (१३) र रोजिन इरेरा (१२) ले दोहोरो अंक छुन सफल भए पनि अन्य ब्याटर प्रभावकारी बन्न सकेनन्।

रुवान्डालाई कम स्कोरमा रोक्न नेपालका लागि रचना चौधरीले तीन विकेट लिइन्। पूजा महतो र कविता कुँवरले समान दुई–दुई विकेट लिए। मनिषा उपाध्याय र रिया शर्माले एक–एक विकेट हात पारे।

यसअघि नेपालले पहिलो खेलमा संयुक्त राज्य अमेरिका महिला क्रिकेट टोलीसँग ४४ रनले पराजय भोगे पनि दोस्रो खेलमा इटाली महिला क्रिकेट टोलीलाई ५० रनले हराएको थियो।

प्रतियोगिताअन्तर्गत नेपालले शुक्रबार भानुआटु महिला क्रिकेट टोलीसँग खेल्नेछ। त्यसपछि आइतबार पुनः अमेरिकासँग प्रतिस्पर्धा गर्ने तालिका छ। नेपालले २८ अप्रिलमा रुवान्डासँग, ३० अप्रिलमा भानुआटुसँग र अन्तिम खेल १ मेमा इटालीसँग खेल्नेछ।

रुवान्डामा जारी प्रतियोगिता आगामी १ मेसम्म सञ्चालन हुनेछ, जसमा अमेरिका, नेपाल, इटाली, भानुआटु र आयोजक रुवान्डा सहभागी छन्।