काठमाडौं - सरकारले सार्वजनिक यातायात तथा ढुवानीका साधनको भाडादर समायोजन गर्ने तयारी गरेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई कारण देखाउँदै मन्त्रालयले दिएको सहमति अनुसार  यातायात व्यवस्था विभागले  १६.७१ प्रतिशतसम्म वृद्धि गर्ने तयारी गरेको छ।

जसअनुसार पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराईमा १५.७५ प्रतिशतले बढाइँदैछ ।विभागले केही समयभित्रै आफ्नो आधिकारिक वेबसाइटमार्फत नयाँ भाडादरको विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।  नयाँ भाडादर कार्यान्वयनमा आए सर्वसाधारणको दैनिक यात्रा र उपभोग्य वस्तुको मूल्यमा समेत प्रभाव पर्ने देखिन्छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार, सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशतले वृद्धि गर्ने तयारी हुँदा मालवाहक सवारी साधनको भाडामा पनि उल्लेख्य वृद्धि गरिँदैछ ।  

पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि भइरहेको जनाउँदै यातायात व्यवसायीहरूले लामो समयदेखि भाडा समायोजनको माग गर्दै आएका थिए ।