काठमाडौं - मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन स्थगित गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश र मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अनशन स्थगीत गरिएको दावा नुर्बु लामाले बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश र एमक्यापले आज उनीहरुलाई वार्ता र संवादद्वारा माग पूरा गर्ने व्यहोराको पत्र पठाएको थियो । सोहीअनुसार अनशन स्थगित गरी मनास्लु बेसक्यापबाट सामागाउँ फर्किएको अनसन टोलीका अगुवा लामाले जानकारी दिए ।
जलवायु परिवर्तनबाट उत्पन्न हुने जोखिम न्यूनीकरण तथा हिमताल विस्फोट लगायतका खतराबाट बचाउन माग गर्दै गत शुक्रबारदेखि उनीहरु आमरण अनशनमा बसेका थिए । सामागाउँका ३६ वर्षीय दावा नोर्बु लामाको नेतृत्वमा ३९ वर्षीय निमा छिरिङ लामा, २५ वर्षीय लेक्ष्य लामा, २७ वर्षीय पासाङ नोर्बु लामा, २६ वर्षीय छिरिङ फुञ्सोक लामा, २९ वर्षीय टासी डुण्डुप लामा, २८ वर्षीय छेवाङ घ्यूर्मे लामा, २३ वर्षीय छेवाङ बाबा लामा, २८ वर्षीय कर्मा छिरिङ लामा, २९ वर्षीय पेम्बा छिरिङ लामा र वडा नं ७ का ३१ वर्षीय पेम्बा गुरुङ शुक्रबारदेखि अनशनरत थिए ।
हिमाली गाउँबस्तीभन्दा माथि धेरै नयाँ तालहरु थपिँदै गएको, हरिया तालहरु थपिँदै गएको, वीरेन्द्र ताललगायत हिमतालमा पानीको सतह बढिरहेकाले यसको निरन्तर नाप जाँच गर्ने प्रविधि जडान गर्नुपर्ने, यसको सम्भावित जोखिमबाट बचाउन गाउँबस्तीमा साइरन जडान गर्नुपर्ने, हिमाली क्षेत्रका विद्यालयमा जलवायु परिवर्तन र यसबाट बच्ने उपाय समेटिएको पाठ्यक्रम बनाएर पठनपाठन गर्नुपर्नेलगायतका माग राख्दै सामागाउँमा ११ युवा अनशनमा थिए ।
त्यसैगरी भविष्यमा हिमताल विस्फोट हुनसक्ने जोखिमको अध्ययन हुनुपर्ने, चीन र नेपालको सीमा क्षेत्रका तालको नियमित संयुक्त निगरानी हुनुपर्ने, विश्वव्यापी तापमान वृद्धिमा नेपालको योगदान नभए पनि दुष्प्रभाव भोगिरहनु परेकाले जलवायु क्षतिपूर्ति र न्याय पाउनुपर्नेलगायतका माग उनीहरुले राखेका थिए ।


0 comment