काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र त्यसबाट भएको जनधनको क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

आइतबार बसेको रास्वपा सचिवालय बैठकले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत वितरणको कामलाई अझै तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको हो। बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता जगदीश खरेलले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत वितरणको काम भइरहेको र अब पुनस्र्थापना तथा पुननिर्माणको काम सुरु हुन लागेको जानकारी सरकारमा सहभागी मन्त्री र पदाधिकारीबाट प्राप्त भएको बताए ।

यस्तै, बेपत्ता भएकाहरूको शव पहिचान हुन नसकेको अवस्थामा डिएनए परीक्षण छिटो गर्न, पीडित परिवारलाई राहतको अनुभूति गराउन र सहयोगको सेवालाई प्रभावकारी बनाउन माग गरिएको प्रवक्ता खरेलले जानकारी दिए । प्रवक्ता खरेलले अझै पनि पाँच हजारभन्दा बढी व्यक्तिहरू बेपत्ता रहेको र कयौँ परिवार पीडामा रहेको उल्लेख गर्दै पार्टीले मृत्यु भएको वा नभएको बारे छिनोफानो गर्न माग गरेको बताए । 

बैठकमा मधेस प्रदेशको अधिवेशनका सम्बन्धमा देखिएका आन्तरिक समस्याहरूको बारेमा पनि छलफल भएको छ। सहमहामन्त्री हरि ढकाल संयोजक रहेको समितिले यससम्बन्धी अडिट रिपोर्ट पेस गरेको र विस्तृत रिपोर्ट अर्को हप्ता बुझाइने प्रवक्ता खरेलले जानकारी दिए । त्यस्तै, पार्टीले अनुशासन आयोग र केही विभागहरूमा नयाँ सदस्यहरू मनोनीत गरेको छ। पार्टी उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणको उपलब्धिबारे पनि बैठकमा समीक्षा गरिएको छ । पार्टी सभापति रवि लामिछानेले सरकारका मन्त्रीहरू, निर्वाचित सांसदहरू र पार्टी नेताहरूको आचरणलाई सुधार गर्दै पार्टी र सरकारबीचको सम्बन्धलाई अझ बलियो बनाएर अगाडि बढ्न निर्देशन दिएको र पार्टी, संसद् र सरकारबीच सम्बन्ध बलियो बनाएर लैजानुपर्ने बताएको प्रवक्ता खरेलले जानकारी दिए ।

त्यस्तै बाढीको विपद्पछि रास्वपाले स्थगित भएका सबै औपचारिक तथा नियमित कामहरू सुचारु गर्ने निर्णय गरेको छ। पार्टीले राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको बताइएको छ ।