काठमाडौं - चैत १३ गते रामनवमीको शुभ साइतमा बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारी गरेका छन्।
संसद् सचिवालयका अनुसार सो दिन कुनै उपयुक्त समयमा शपथ ग्रहण कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको छ। यद्यपि मन्त्रीहरूको शपथ ग्रहण सम्बन्धी विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले पनि चैत १३ गतेकै दिन बालेन्द्र शाह प्रधानमन्त्री बन्ने जानकारी दिएका छन्। पार्टीका नेताहरूका अनुसार रास्वपाको सचिवालय र केन्द्रीय कमिटीको निर्णयअनुसार बालेन्द्रलाई प्रधानमन्त्री बनाउने प्रक्रिया अघि बढाइएको हो।
यसैक्रममा, शपथ ग्रहणअघि संसदीय दलको बैठक बस्नेछ। उक्त बैठकले बालेन्द्रलाई औपचारिक रूपमा संसदीय दलको नेता चयन गर्दै प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने निर्णय गर्नेछ।
पार्टी स्रोतका अनुसार विधान परिमार्जन तथा नीतिगत निर्णयहरू पूरा भएपछि मात्रै प्रधानमन्त्री पदका लागि प्रक्रिया अगाडि बढाइनेछ। ‘नियम र प्रक्रिया अनुसार चैत १३ गते शपथअघि संसदीय दलको बैठक बस्छ, र त्यसले उहाँलाई प्रधानमन्त्रीका रूपमा अघि सार्छ,’ एक नेताले बताएका छन्।
यसरी संसदीय दलको बैठकबाट औपचारिक निर्णय भएपछि बालेन्द्र शाहले सोही दिन प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम तय गरिएको छ।


0 comment