काठमाडौं - काठमाडौंमा बुधबारदेखि सुरु भएको सहिद स्मारक राष्ट्रिय महिला लिगमा सङ्कटा एफसीले विजयी सुरुवात गरेको छ ।

ललितपुरस्थित च्यासल मैदानमा भएको उद्घाटन खेलमा न्युरोड टिमलाई ४–० गोल अन्तरले पराजित गर्दै सङ्कटा एफसीले विजयी सुरुवात गरेको हो । सङ्कटाको जितमा यशोदा शाही, सुक्रीया मिया, लुसिया लेइला र अकोसुअ अमनक्रहले गोल गरिन् ।

लिगमा एपीएफ फुटबल क्लब, बागमती युवा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, न्यू रोड टिम, नेपाल पुलिस क्लब, आरएस रिसोर्ट र बीच फुटबल, संकटा एफसी र त्रिभुवन आर्मी एफसीको सहभागिता रहेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सुरु महिला लिग वैशाख १२ गतेसम्म चल्ने छ ।लिगका खेलहरु सिंगल राउन्ड रोविनका आधारमा हुने एन्फाले जनाएको छ ।