काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा चैत ४ गते बुधबारदेखि काठमाडौंमा सहिद स्मारक एन्फा महिला लिग सुरु हुँदैछ । वैशाख १२ गतेसम्म ललितपुरस्थित च्यासल मैदानमा सञ्चालन हुने लिगका खेलहरु सिंगल राउन्ड रोविनका आधारमा हुने एन्फाले जनाएको छ ।

लिगमा एपीएफ फुटबल क्लब, बागमती युवा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, न्यू रोड टिम, नेपाल पुलिस क्लब, आरएस रिसोर्ट र बीच फुटबल, संकटा क्लव र त्रिभुवन आर्मी एफसीको सहभागिता रहनेछ । सहभागी ९ वटै टोलीले लिगको तयारी तीव्र गरिएको भन्दै नजिता आफ्नो पक्षमा पार्ने दाबी समेत गरेका छन् ।

उद्घाटन खेल अघि मंगलबार एन्फा कम्प्लेक्स सातदोवाटोमा आयोजित प्रि म्याच कन्फ्रेन्समा सहभागी टिमका प्रशिक्षक र कप्तानहरुले खेलाडीहरु लिगका लागि तयार रहेको र नजिता आफ्नो पक्षमा पार्ने गरि सुरु देखि नै अन्य टिमलाई दबाब दिएर खेल्ने समेत बताएका थिए ।

बुधबार हुने लिगको उदघाटन खेलमा न्युरोड टिम (एनआरटी) र संकटा फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ । त्यस्तै बुधबार नै हुने अर्को खेलमा त्रिभुवन आर्मी क्लब र झापा एफसी भिड्नेछन् ।