काठमाडौं - अखिल नेपाल फुटबल संघ(एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग यही चैत ३० गतेबाट सुरु गर्ने भएको छ । मंगलबार एन्फाले नेपाल खेलाडी संघसंग सहिद स्मारक ए डिभिजन लिग यही चैत ३० गतेबाट सुरु गर्ने गरी सहमति गरेको हो ।

चैत ३० गते उद्घाटन गरि केही समय लिग स्थगित गर्ने र त्यसपछि तालिका तयार गरेर अन्य खेल भने वैशाख २० बाट निरन्तर गर्ने सहमति भएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । त्यस्तै खेलाडी अक्षय कोषमा जम्मा गर्नुपर्ने रकम संघले जम्मा गर्ने प्रतिबद्धता जनाएको छ ।

खेलाडीहरूको सेवा–सुविधासम्बन्धी अघिल्लो कार्यसमितिबाट निर्णय भई भुक्तानी हुन बाँकी रहेको पुरस्कार रकम यही चैत महिनादेखि किस्ताबन्दीमा भुक्तानी गर्दै जाने सहमति पनि भएको प्रवक्ता शाहले बताए ।

त्यस्तै खेलाडी संघका अध्यक्ष विक्रम लामाले नेपाली फुटबललाई चलायमान बनाउन आफूहरुको दवाव भएको भन्दै अहिले भएको सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गरे । अब दुवै पक्षले गम्भीर भएर नेपाली फुटबल खेलाडीहरु अघि बढ्ने उनले बताए ।

एन्फा र संघबीच सहमति भएपछि एन्फा मुख्यालयमा गरिएको तालाबन्दी खोलिएको छ । वार्तामा एन्फा महासचिव राई, केन्द्रीय सदस्य पुरुषोत्तम थापा, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर, कोषाध्यक्ष रविन्द्र जोशी, प्रवक्ता सुरेश शाह तथा खेलाडी संघका प्रतिनिधिहरू सहभागी थिए ।