काठमाण्डौं –  मेहनत कृषकले कम लगानीमा राम्रो आय गर्न सक्ने सरल व्यवसाय मौरीपालन हो । हाम्रा कृषकहरुले परापूर्व कालदेखि नै मौरी पालन गर्दै आएको भएता पनि अझै मौरी पालनलाइए व्यवसायीकरण गर्न उन्नत प्रविधिको अवलम्बनका साथैै आयमूलक व्यवसायको रुपमा विकास गर्न नसकेको भएपनि क्रमशः परम्परागत मौरी पालन परिर्वतन भई व्यवसायिक रुपमा शुरुवात भएको छ । नेपालको तराई र भित्री मधेश क्षेत्रमा एपिस मेलिफेरा र पहाडी भेगमा एसिप सेनान जातको मौरी पालन भइरहेको छ । 

एपियरीको छनौट 

मौरी घार राख्ने क्षेत्रको वरिपरि सकेसम्म बर्ष भरि नै चरन उपलब्ध भएको, १–१.५ कि.मी वरिपरि मौरी चरन बाली÷ फैलिएको, फुल फुल्ने पर्याप्त अवधि, पानीको श्रोत भएको तथा विषादी प्रयोग नहुने क्षेत्र हुनुपर्दछ । 

एपियरीमा मौरी गोलाको प्रबन्ध

१. परम्परागत मुढे घार वा खोपे घार सुधार्ने र चलायमान चौकोस राख्ने अथवा आधुनिक घारमा मौरी पालन गर्ने ।
२.एपियरीको साथै सबै आधुनिक घार एकै साइजको राख्ने । 
३. घारलाई अगाडिपट्टी ढल्काएर २५–३० से.मी उचाईको स्टैण्ड माथि राख्ने तथा स्टाण्डको चारवटै खुट्टामा पानी भरिएको कचौरा राख्ने । 
४. मौरीको प्रवेशद्वारा अगाडि खुल्ला ठाउँ हुनुपर्दछ । 
५. स्थानीय जातको दुई घारको मौरीको दुई घारको बीच कम्तीमा १ मीटर दुरी राख्ने । 

अनुपयुक्त मौसममा व्यवस्थापन कार्य

१.गर्मी याममा चर्को घामबाट बचाउन छहारीको प्रबन्ध गर्ने, प्रवेशद्वार ठूलो पार्ने, भेन्टीलेशनको व्यवस्था गर्ने, मौरीको लागि घार बाहिरको भाँडोमा नुनिलो पानी राखि दिने । 
२. जाडो याममा घारको वरिपरिका प्वालहरु थुनिदिने, प्रवेशद्वार उत्तर दिशातिर नराख्ने, बोरा वा गोरखापत्रले घारका फ्रेमलाइै छोपिदिने, खानाको अभाव भएमा चिनी चास्नी दिने, कमजोर गोलाहरुलाई आपसमा संयोजन गरिदिने । 
३. गृष्ण वा बर्षा याममा मौरीको रोग र शत्रु बढी देखा पर्ने हुँदा त्यसको नियन्त्रणमा बढी ध्यान दिनुपर्दछ । आहाराको अभाव बढी हुने हुँदा कृत्रिम आहाराको व्यवस्था गर्नु पर्दछ । मौरीले गृह त्याग गर्ने सम्भावना बढी भएकोले प्रवेशद्वारमा रानू ढोका प्रयोग गर्ने, बलियो गोलाबाट टालेका छाउराहरुको फ्रेम राख्ने, रोगी गोलाहरुलाइै तुरुन्तै उपचार गर्ने । 
४. यस्तो प्रकारका उनुपयुक्त मौसममा निरीक्षण गर्दा घार धेरै बेरसम्म खुल्ला राख्नु हुँदैन । 

रोगी गोलाको पहिचान कसरी गर्ने 

१. चाकामा छाउराहरु कम र छरिएर रहेका हुन्छन् । 
२. छाउराको रंग धमिलो खरो देखिन्छ । 
३.रोगग्रस्त चाकाबाट नराम्रो गन्ध आउँछ । 
४. टालेका छाउराको बिर्को केही तल धसिएको र सानो प्वाल हुन्छ र आसनवोर्ड भित्र मरेका छाउराहरु प्रशस्त देखिन्छन् । 
५. त्यस्तै रोगी मौरीहरु घार बाहिर घस्रेर हिड्छन्, उड्न नसक्नु , भारभित्र जताततै मौरी विष्टा । 

– कृषि डायरी