काठमाडौं - नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले सार्वजनिक रुपमै आफ्नो उपचारका लागि आर्थिक सहयोग मागेकी छन्। उनले सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक रुपमै सहयोगको अपिल गरेकी हुन् ।
उनले लेखेकी छन् , ‘ म पछिल्लो ७ हप्तादेखि चोटका कारण मैदानबाहिर छु । सोचेजस्तो हुन्थ्यो भने अहिले म चोटको शल्यक्रिया गरेर फिजियो सुरु गरेको केही समय बितिसक्ने थियो । तर अझैपनि म उपचारको लागि भौतारिएको छु ।’
नेपाललाई कैयन पटक जित दिलाएकी साम्बाले उपचारका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र सरकारबाट सहयोग नभएपछि सार्वजनिक रुपमै आर्थिक सहयोगको अपिल गर्न बाध्य भएको उनले उल्लेख गरेकी छन् ।
एन्फाले ५ लाख रुपैयाँ मात्र सहयोग गर्न सक्ने प्रतिक्रिया दिएको साम्बाले बताइन् । उनको दुवै घुँडामा गम्भीर चोट लागेको कारण जटिल शल्यक्रिया गर्नुपर्ने हुँदा उपचारका लागि कुल ८० हजार अमेरिकी डलर खर्च लाग्ने साम्बाले लेखेकी छन् । आर्थिक रुपमा मैले आजसम्म आर्जन नगरेको रकम यो उपचारका लागि आवश्यक परेको छ,उनले बताइन् ।
राष्ट्रिय टोलीकी कप्तानले उपचारका लागि सार्वजनिक रुपमा अपिल गर्नुपर्ने अवस्था आउनु दु:खद रहेको नेपाली खेल प्रेमीहरु बताउँछन् ।
यसैगरी समयमै उचित उपचार पाउँदा कयौं खेलाडीहरु घाइते भएपछि पुन: खेलमा फर्किन सकेका छैनन् ।


0 comment