– रामशरण पाण्डे

काठमाण्डौं – राजनीति देशको मेरुदण्ड हो । यसले समाजलाई समृद्धिको बाटोमा लैजान्छ । लोकतान्त्रिक राष्ट्र र राज्यमा राजनीतिका सञ्चालक दलहरु र त्यसका नेतृत्व नै हुन् । आज दलहरु र त्यसका नेता पत्रपत्रिका वा अन्य सार्वजनिक मञ्चबाट भन्न थालेका छन्–पत्रकार, लेखक र वुद्धिजीवी आफू बाहेकका दल र त्यसको नेतृत्वविरुद्ध खनिइरहेका छन् । प्रशंसाको गीत गाउनेहरु मात्र हुने उनीहरुको निचोड छ । गाली गर्ने सबै शत्रु कहाँ हुन्छन् र ? दलविनाको प्रजातन्त्र कल्पना गर्न सकिन्न । दल भन्दै सत्ता, शक्ति,भक्तिका साथै बेथित र विसंगतिको मार्गमा लम्किरहेका दल र नाङ्लो पसल चलाइरहेका समूहलाई कसरी दल र नेता मान्ने ? अहिलेको अहं प्रश्न हो ।

जनतालाई कसैले पनि किन नेता मान्ने ? केका लागि ? कहिले सम्म ? मुख्य कुरा यिनै दल र नेताहरुको विवेक खुलोस् र सच्चिउन् भन्ने नै हो । अन्यथा दल र त्यसका नेताले ठूलो मूल्य चुकाउनु पर्नेछ । जनताले मोहभंग नहुँदा सम्म मात्र कुनै पनि व्यवस्था र शक्ति अस्तित्वमा रहन्छन् ।

विसंगति र बेथित ढोल बजाएर आउने वस्तु होइनन् । यिनलाई त हामी आफैले सिर्जना गरेका हौ । विशेष गरि दुई दशक देखि समाजलाई दिशानिर्देशन गर्ने सरकार, पार्टी र नेताहरुका घृणित गतिविधि, व्यवहार र आचरण नै जिम्मेवार हुन् । समाजमा देखिएका चोरी, डकैती, लुटपातट, कालाबजारी, हत्या,हिंसा, डिप्रेसन, बलात्कार, सत्ता र शक्ति केन्द्रित राजनीतिका नाममा गरिएका अराजनीतिक कार्यशैली र व्यवहारकै सहउत्पादन वा प्रतिफल हुन् । 

जब जनता आफूले भरभरोसा गरेको व्यक्ति र संस्थाले वुद्धि, बल, क्षमतालाई निहित व्यक्ति र समूहको स्वार्थका साथै विदेशीको गाटी र दास बन्न सत्ता, शक्ति र धनार्जन गर्न लिप्त हुन पुग्छन् अनि जनतामा निराशा, कुण्ठा र आक्रोश पैदा हुुनु स्वभाविक नै हो ।

२०६४ सालमा प्रतिनिधिसभामा ८३ सिट सहित संसदमा प्रवेश गरेपछि माओवादिले जुम्ला सिञ्जाका काँग्रेस महासमिति सदस्य उमाकान्त हमाललाई सामन्तीको आरोप लगाउँदै निमर्मतापूर्वक हत्या ग¥यो । बाबुराम प्रधानमन्त्री भएको केही महिनामै त्यसको आरोपमा पक्राउ परेका आरोपितलाई सजिलै छोडियो । कांग्रेसका नेता कार्यकर्ता र जनता भेला भई हमाललाई श्रद्धाञ्जलि चढाइएकै चौरमा माओवादीले सिन्दुर जात्राका साथ खसी काटेर भोज भतेर गरी विजयोत्सव मनाए । त्यसयता त्यस क्षेत्रमा चारपाँच वटा हत्याका घटना भइसकेका छन् । यसको पछाडिको कारक त्यहि भोजभतेरको रिफ्लेक्सन हो । जब विधि, विधान, नियम र कानून कार्यान्वयन हुन सक्दैन वा यसको उपहास गरिन्छ अनि समाजमा बेथित र विसंगतिको लर्को लाग्न थाल्छ ।

यस्तै विगत द्धन्द्धकालमा बजुराको काण्डमा ११ जना युवालाई सत्तापक्षले सुराकीको आरोपमा निर्ममतापूर्वक हत्या ग¥यो । यस्तै तत्कालीन सत्ताले माओवादी भएको आरोपमा रुकुमको खारागाउँ नै जलायो । यस्तै तराईको गौर हत्याकाण्ड घटाइयो । अझैसम्म यी क्षेत्रमा मानिस विछिप्त देखिन्छन् । गोर्खाकी गंगामायाको जीवनमा पारिएको बज्रपात, शोक र नन्दप्रसाद अधिकारीले बर्बतापूर्ण हत्या भनौ कि मृत्यु( (?) भइसक्दा पनि कसैको चेत खुलेको छैन । कोेही जवाफदेही छैन । यी सबैले न्याय पाएको सुनिएको छैन । यि त प्रतिनिधि घटना मात्रै हुन् । यो देशको सत्ता र विद्रोही दुबै पक्षबाट हजारौ गाउँगाउँमा यस्ता घटना भएका छन् । ‘फर गिभ इट बट नट फरगेट’ को सिद्धान्तको अनुसरण गरेर द्धन्द्ध समाधानको बाटो तिर कहिल्यै लागेन हाम्रो राजनीतिक नेतृत्व ।

मानव जीवन यति अमूल्य हो, जो एकपटक मात्र पाइन्छ, गुमेपछि फर्काउन सकिने कल्पनासम्म गर्न सकिन्न भन्ने जान्दाजान्दै विवेक विक्री गरेर यहि मानव जीवनमा खेलबाद गरिन्छ । हाम्रो राजनीतिमा जब आफ्नै देशभित्रका भाइभाइबीच रडाको मच्चाएर हिंसा र हत्याको राजनीति शृखला सुरु भयो त्यहीबाट मानवीय मूल्य, मान्यता र संवेदनाको क्षयीकरण तीव्र गतिमा भइरहेको छ । हाम्रो समाजमा यो बेथिति अझै रोकिने भन्दा पनि झन् भड्किने स्थिति पुग्नुमा राजनीतिक नेतृत्वको भूमिका छ ।

फलानाले भ्रष्टाचार ग¥यो, केही भएन, अझ समाजमा उँचो शिर गरेर हिँडिरहेछन् तिनीहरु नै । सबै उसैको पछाडि लाग्छन् फलानाले हत्या ग¥यो उसलाई जेलनेल खानुपरेन, फलानोले जागिर पायो राजनीतिक नियुक्ति भयो, ऊ फलाना मन्त्री वा नेताको भाइभतिजो वा नजिकको मान्छे हो । फलानोले बलात्कार ग¥यो त्यो खुलेआम घुमिरहेको छ । जसको माथिसम्म पहुँच छ । फलानाले खाद्य पदार्थमा मिसावट ग¥यो वा कालाबजारी ग¥यो, उसलाई केही कारबाही भएन किनकि उसले सबै शक्ति केन्द्र वा पार्टी र नेतालाई चन्दा दिन्छ । समाजमा यस्तै प्रकृतिको नैराश्यपूर्ण चर्चा र दण्डहीनता पातलिनुको साटो झन् बाक्लिँदो छ । आज बिरक्तिएर दैनिक १५ सय हाराहारीमा युवा विदेशीदैछन् । खाडी, अन्य मुलुक र भारतमा जानेको संख्या झन् कैयन् गुणा बढी हुने नै भयो । यो हो देशको नियति हो ।

हाम्रै घर–घर, परिवार–परिवार, नातागोताभित्रै कुरा चल्न थाले फलानो खरिदार, सुब्बा, अधिकृत भयो, एनजीओ आईएनजिओ खोल्यो, पार्टी खोल्यो, नेता भयो, मन्त्री भयो । फलानो ठाउँमा ठूलो घर बनायो, गाडी किन्यो, जग्गा किन्यो, श्रीमतीलाई गरगहना जोडिदियो । यस्तै–यस्तै संस्कार र सामाजिक संरचनाले समाजलाई गाँज्दै लगिरहेको छ । त्यसो भनेर नेपाली समाजबाट निष्ठा, नैतिकता र इमानदारी हराइसक्यो भन्न खोजिएको होइन ।

नेपाली राजनीति २०४७ पछि ३२ वर्षभित्र १३ वटा प्रधानमन्त्री उत्पादन गरिसकेको छ । त्यसपछि पूर्व पञ्चहरु दुईजना सूर्यबहादुर थापा (२ पटक), लोकेन्द्रबहादुर चन्दा (२ पटक) हुन् । वामपन्थी ६ जना (मनमोहन अधिकारी, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल,  बाबुराम भट्टराई र केपी ओलि) र कांग्रेसले ४ जना, कृष्ण प्रसाद भट्टराई (२ पटक), गिरिजाप्रसाद कोइराला (५ पटक), शेरबहादुर देउवा (५ पटक), र सुशील कोइराला र १ जना कर्मचारीतन्त्रबाट खिलराज रेग्मी । राजा ज्ञानेन्द्रको अध्यक्षतामा तुलसी गिरी र कीर्तिनिधि विष्ट उपाध्यक्ष समेत सरकार सञ्चालन गरेको एकपटक ।

कयौं पटक सरकार परिवर्तन गरिएका छन् । हाम्रो राजनीति सत्ता स्वार्थमा मात्रै कति केन्द्रित, अस्वस्थ र लिप्त छ । यो समय भित्रका पात्रहरुको श्रद्धाका साथ नाम लिनुपर्दा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र ममोहन अधिकारीकोे लिन सकिन्छ । भट्टराईको राजनीति दर्शन कहिल्यै पनि इगो, कपटपूर्ण र सत्तालिप्साको मानसिकता र व्यवहारबाट अगाडि बढेन । विवेकसम्मत बाटोबाट उनको नेतृत्वमा ६ महिनाभित्र २०४७ सालको संविधान देशले पायो । यस्तै अधिकारीले नौमहिने शासनकालमा सामाजिक सुरक्षा भत्ता र गाविसहरुलाई आर्थिक रुपमा बलियो बनाउने काम भए ।

अहिलेसम्म हाम्रो नेताहरुले परिवर्तन र क्रान्तिकारी रुपान्तरणका नाममा त्यसको अमूर्त सपना बाँडिरहेका छन्, जसको मूर्तरुप अहिलेसम्म देख्न र चाख्न पाइरहेको छैन नेपाली समाजले । राजनेता वा जनताको नेता त्यो हो, जसले अमृत फल फलाउने सपना राख्दछ र कम्तिमा आफ्नो जीवनकालमा मीठो फलको विरुवा रोप्छ फुलाउँछ, फलाउँछ र जनतालाई बाँड्छ र आफूले पनि चाख्दछ । हामीकहाँ विगतमा विषका विरुवा रोपिए, विष फल बाँडिए र बाँड्ने क्रम जारी नै छ ।

राजनेता वा जनताको नेता कहिल्यै पनि भीडबाट निर्देशित हँुदैन । के बोल्दा र गर्दा भीडबाट ताली पाउँछु भन्ने कलाकार, जोक्कर र जादुगरले हो भन्ने भ्रमबाट हाम्रो नेतृत्व मुक्त छैन । देश, समाज र जनताको भलाइ र हितलाई केन्द्रमा राखेर वर्तमान वा दीर्घकालमा क्षति पु¥याउने विषयवस्तु उसले त्यो भीडविरुद्ध बोल्ने आँट,  साहस र क्षमता राख्दछ बरु ढुंगा खान किन नपरोस् । तर हामीकहाँ राजनीति विवेकबाट नभई भीडबाट निर्देशित भयो ।

अपराधवोध र त्यसबाट मुक्त जीवनले सतमार्गलाई निर्देशित गर्छ । उसले सार्वजनिक रुपमा अपराधबोध गर्छ भने कम्तीमा आफ्नै आत्मालाई शान्ती त दिन्छ नै, जनताबाट पनि क्षमदान पाउन सक्छ । देश र जनतालाई उँभो लगाउने हो भने हाम्रा पार्टी र त्यसका नेतृत्वले अब यो बाटो तत्काल अवलम्बन गर्नैपर्छ । असत्यमाथि अर्को असत्यको पहाड बनाउँदा त्यसबाट दुर्गन्धबाहेक अरु केको आशा गर्न सकिएला ? राजनीतिमा झुट त्यतिखेर ग्राह्य हुन सक्छ जब हजारौ घरका भलो हुन्छ भने एकदुई घर जलेको छोड्न सकिन्छ । राजनीतिमा नैतिकता, विवेक र जबाफदेही संंस्कार समाप्त भएको छ ।

गाउँघरतिर भनाइ छ–मसान (कतै–कतै वीर पनि भन्ने गरिन्छ) बसाल्न नसक्नेले मसान उठाउन हुन्न, त्यसैले आफैलाई खान्छ भन्ने तान्त्रिक मान्यता छ । मसान जगाउन उल्टा मन्त्र जप्नुपर्छ रे । त्यसलाई बसाल्न फेरि सुल्टा मन्त्र जप्न अनिवार्य जानेको हुनुपर्छ ।

मसान कसैलाई मनपर्ने कुरा होइन । त्यसैले कसैको भलो पनि गर्दैन, त्यसैले मसान जगाउनु र जगाउने मन्त्राणा लिनु वा सिक्नु यी दुवै भने कदाचित राम्रा पक्ष होइनन् । तर हाम्रा केही राजनीतिक पार्टी र त्यसका नेतृत्व मसान जगाउने कुरामा हरपल उद्यत् नै रहे भने केही हरपल त्यसलाई ठीक लगाउने नाममा झाँक्रीको भूमिकामा ढोल झाम्टा बजाउन र खुर्सानी धुँवाउनमै हौसिने भूमिका देखिन्छ ।

०५२ सालबाट माओवादी मसान जगाउनमा सफल भयो तर त्यसलाई बसाल्न नसकेकाले अहिले समाज चरम बेथितिबाट गुज्रिन बाध्य भयो । जगाउनेहरु पनि संकटमै फसे, जुन अहिलेको राजनीतिक तस्विरले देखाउँछ । समाजमा सहमतमा देखिएका विभिन्न खालका वेथिति हत्या, हिंसाका सहायक कारण अरु पनि होलान् तर मूल जरो त्यही माओवादीले चलाएको हत्या  हिंसाको राजनीतिको जग नै हो ।

माओवादी जति नै आफूलाई तर्क–वितर्कका साथले दूधमा नुहाउन खोजे पनि सत्य यही हो । यहीबाट भयो, हिंसाको संस्कृतिको थालनी र मानव सभ्यताको स्तरमा गिरावट । यसको वैधानिकता ०६२÷६२ को जनआन्दोलन पछि भयो । अचेल झन संस्थागत हुदैछ । अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण गर्ने लामो शृंखलाको निरन्तरताको प्रतिफल हो, अहिलेको वेथिति । राजनीति र त्यसलाई डो¥याउने विवेकी पार्टी, पात्र र प्रवृति पाउन नसक्नु नेपाली समाजको दुर्भाग्य भन्नुपर्छ ।

लर्ड मैकाले भन्ने विद्धानले अठारौ शताव्दीमा एसियाली रमाज र संस्कृतिको झन्दै ३० वर्षको अध्ययन गरेर निकालेको निष्कर्ष ‘फुटाऊ र राज गर’ नीति एसिया महादेशमा लागू गर्न उनले ब्रिटिस पार्लियामेन्टमा १८३५ फेब्रुअरी २ मा प्रस्तुत गरेका थिए । तर हाम्रा दल र त्यसको नेतृत्वले भने समाज र जनता फुटाएर नायक बन्ने लालस मात्र गरे । धर्म, संस्कृति भाषा, जातजातिका नाममा । समाज र परम्परागत संस्कृतिको अधोगति यसैको परिणाम हो । 

पहिले संविधानसभा देखि दास्रो संविधानसभा सम्म आइपुग्दा दलहरु सयौको संख्यामा गठन भए । दास्रो संविधानसभा निर्वाचनमा १२० दलले भाग लिएको तथ्यांकले पुष्टि गर्छ । आज पनि गल्लीगल्लीमा दलका नाममा नांग्ले पसल खोल्न हौसिनेहरु यत्रतत्र भेटिन्छन् । राजनीतिको आवरण भिरेपछि पद, प्रतिष्ठा, धन प्राप्तिका साथै अपराधबाट सजिलै उम्किन सकिन्छ भन्ने मनोविज्ञानबाटै यस्तो भइरहेको छ । नीतिहरुको माउनीति र देशको मेरुदण्ड भनिने राजनीति आज अएर यति तल्लो स्तरमा पुगेको छ, यसको जिम्मेवार को हो ? हामी नेपाली नै हैनौ र ?