काठमायडौं – नेपालमा भारतबाट वर्षेणी १ अर्ब रुपैयाँ भन्दा बढीको प्याज आयात हुँदै आएको तथ्याङ्क पेश गर्न सकिन्छ । नेपालमा प्याज खेती केही दशक अघिसम्म राम्रो भएको पाइए पनि हाल यसमा कमी आएको स्पष्ट देख्न सकिन्छ । हाम्रो मुलुकमा बढी मानिसहरु विस्तारै शहर केन्द्रित हुँदै आएकोले पनि कौशीमै प्याज खेती पनि गर्न सकिने सल्लाह दिन सकिन्छ । 

प्याजको हरियो पात प्रयोग गर्ने देखि लिएर यसको गानोलाई मसलाको रुपमा प्रयोग गरिदै आएको छ । यसको गानो तरकारी, मासुमा प्रयोग गरिदै आएको छ । चाउचाउको मसला प्याकेटमा यसको धुलो समेत बनाएर राखिदै आएको छ । बेला बेलामा यसको मूल्यले आकाशै छुने हुन्छ । त्यस्तो अवस्थामा कौशीमा प्याज खेती फाइदाजनक मानिन्छ । 

लगाउने समय 

धनियाँ र लसुन नेपालको समयमा बाह्रै महिना लगाउन सकिने हुन्छ तर प्याजमा भने समयको विशेष ख्याल राख्नु पर्ने हुन्छ । हरियो घाँसको लागि हो भने यसको पनि खेती बाह्रै महिना भएता पनि गानोको बारेमा भने समयलाई विशेष ध्यान दिनै पर्छ । भदौ असोजमा यसको नर्सरी व्याड राख्नु पर्ने हुन्छ । एउटा गमला वा थैलामा पनि हजारौँ बेर्ना उत्पादन गर्न सकिने हुनाले समस्या पर्दैन यदि १० वटा गमला वा बोरामा प्याज रोप्ने हो भने २ सय सम्म बेर्ना भए पुग्छ । एउटा गमला वा बोरामा जम्मा २० वटा मात्र बेर्ना रोप्ने । बेर्ना राख्दा मल, माटो, बालुवा १÷१ भाग मिलाएर सम्म बनाएर ३ सय वटा जति दाना गनेर गमलाको चारैतिर पर्ने गरि छर्ने र माथिबाट फेरि त्यही मल, माटो र बालुवाको मिश्रणले पुर्ने र पानी दिने । 

आवश्यक सामाग्री

– माटो १० वटा गमलाको लागि ५ बोरा
– मल १० वटा गमलाको लागि ३ बोरा
– बालुवा १० वटा गमलाको लागि ३ बोरा
– धानको भुस ५ बोरा
– प्याजको बीउ २० ग्राम
– गमला÷बोरा÷थैला÷काठ वा बाँसको भाँडा जे भएपनि
– पानी १०–१५ लिटर

जातिय विवरण

नासिक रेड र रेड क्रियल जातको प्याज कौशी खेतीको लागि पनि उपयोगी मानिन्छ । 

खेती गर्ने तरिका

बेर्नाको लम्बाई ३–४ इन्च भएपछि रोप्ने बेला हुन्छ गमलाको गोलाई फराकिलो भने हुनुपर्छ एउटा गमलामा २० बोट सम्म बेर्ना रोप्न सकिन्छ । २ इन्चको फरकमा बेर्ना रोप्दा राम्रो हुन्छ । पछि गानो ठूलो बनाउने हो भने छाटेर बीच बीचको बेर्ना हरियो पात खाने हिसाबमा पनि काट्न सकिन्छ । गानो ठूलो बनाउनको लागि धानको भुस प्रयोग गर्न सकिन्छ । यसरी रोपेपछि पानी भिज्ने गरि दिनुपर्छ । रोपेको १२० दिन सम्म प्याजको गानो तयार हुन्छ । 

रासायनिक मल तथा विषादी

रासायनिक मल तथा विषादी प्रयोग नगर्ने ।