काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा आक्रमण आदेश दिएका छन् ।

आदेशपछि भेनेजुएलाका सैन्य स्थलहरुमा आक्रमण गरिएको समाचार छ । राजधानी काराकासमाथि आगो र धुवाँ उठिरहेको तस्वीरहरु सार्वजनिक भएका छन् । भेनेजुएला सरकारले अमेरिकी सैन्य आक्रमणलाई अस्वीकार गर्दै कडा निन्दा गरेको छ।

धेरै स्थानमा विस्फोटका रिपोर्टहरू आएपछि वरपरका केही समुदायहरूमा विद्युत् आपूर्ति बन्द भएको छ।

यो घटना अमेरिका र भेनेजुएलाबीचको तनाव अत्यधिक बढेपछि  भएको हो ।

बिहीबार भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलेआ लागुऔषध तस्करी र तेलसम्बन्धी विषयमा अमेरिकाले जहाँ र जहिले चाह्यो त्यहीँ वार्ता गर्न आफू तयार रहेको बताएका छन्।

भेनेजुएलाको सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा मादुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्त भनाइमा प्रतिक्रिया दिन टारे,जसमा अमेरिकाले भेनेजुएलामा रहेको एउटा डकिङ सुविधा (जहाज बाँध्ने स्थान) मा आक्रमण गरेको दाबी गरिएको थियो। यो भेनेजुएलाभित्र गरिएको पहिलो आक्रमण भएको र त्यसमा सीआईएको संलग्नता रहेको बताइएको छ।

मादुरोको अन्तर्वार्ताभन्दा केही दिनअघि ट्रम्पले अमेरिकाले कथित भेनेजुएलाली लागुऔषध बोक्ने डुंगासँग जोडिएको डक क्षेत्रमा आक्रमण गरेको बताएका थिए। उनले त्यहाँ ठूलो विस्फोट भएको र त्यहीँबाट डुंगामा लागुऔषध लोड गरिन्थ्यो भनेका थिए।

यो घटनाक्रम ट्रम्पले मादुरोमाथि दबाब बढाएको केही हप्तापछि आएको हो। ट्रम्पले मादुरोले कारागार र मानसिक अस्पतालहरू खाली गरेर त्यहाँका कैदीहरूलाई अमेरिका तर्फ जबरजस्ती पठाएको, साथै तेलबाट आएको पैसा लागुऔषधसम्बन्धी अपराधमा लगानी गरेको आरोप लगाएका छन्।

सेप्टेम्बरयता अमेरिकाले आफूले लागुऔषध तस्करीमा प्रयोग भएको भनेका डुंगाहरूलाई लक्षित गर्दै ३० वटा आक्रमण गरेको छ, जसमा प्रशान्त महासागर र क्यारेबियन क्षेत्रमा रहेका जहाजहरू निशानामा परेका छन्।

२ सेप्टेम्बरमा अन्तर्राष्ट्रिय पानीमा रहेको एउटा डुंगामाथि अमेरिकाले पहिलो आक्रमण गरेयता ११० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ।